धनगढीमा १० वर्षीय बालकको वीभत्स हत्याः सुनको मुन्द्रा लुटिएको आशंकामा ४ जना पक्राउ
धनगढी । धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी शिविरका १० वर्षीय बालक तनुज चौधरीको वीभत्स हत्या गरिएको छ। बुधबार घरबाट साइकलमा निस्किएका बालक शुक्रबार गौरीगंगा नगरपालिका–६ को कालिका सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन्।
बुधबार दिउँसो साथीसँग गौरीगंगा–६ मोयामा रोपाइँ भइरहेको स्थानमा पुगेका तनुजले त्यहीँका केही स्थानीय व्यक्तिहरूसँग गंगटा पोलेर खाएका थिए। त्यसपछि पानी पिउन भनी घरबाट निस्किएका उनी साँझसम्म घर नफर्केपछि परिवारले खोजी सुरु गरेको थियो। लामो खोजीपछि शुक्रबार उनको शव सडकबाट करिब ४० मिटरभित्र जंगलमा फेला परेको हो। घटनास्थलमा उनको साइकल, चप्पल र अन्य केही सामग्रीहरू समेत फेला परेका छन्।
घटनास्थलको प्रकृति र प्रारम्भिक अनुसन्धानबाट बालकको हत्या सुनको मुन्द्रा लुट्ने उद्देश्यले गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। मृतकका आफन्तका अनुसार तनुजले कानमा एक आना बराबरको सुनको मुन्द्रा लगाएका थिए, जुन शव फेला पर्दा घटनास्थलमा थिएन। सोही मुन्द्रा लुट्ने नियतले नै उनको हत्या गरिएको हुनसक्ने परिवारको आशंका छ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय, कैलालीले हालसम्म चार जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






डिसी नेपाल





Facebook Comment