असार १५ को मौलिकता: दही-चिउराको सांस्कृतिक महिमा र स्वास्थ्यवर्द्धक महत्त्व
काठमाडौं। प्रत्येक वर्षको असार १५ गतेलाई नेपाली समाजमा राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने पर्वका रूपमा विशेष उत्साहका साथ मनाइन्छ।
मानो रोपेर मुरी उब्जाउने यो महत्त्वपूर्ण समयमा खेतबारीमा व्यस्त रहने किसानहरू मात्र नभई अन्य पेसा र व्यवसायमा रहेका नेपालीहरूले पनि आजको दिन दही-चिउरा खाएर यो पर्व मनाउने गर्दछन्। असारे गर्मी र कामको चटारोले थकित शरीरलाई दही-चिउराले शीतलता प्रदान गर्नुका साथै ऊर्जा सञ्चय हुने जनविश्वास छ।
हाम्रो सनातन संस्कृति र परम्परामा दहीको स्थान अत्यन्तै महत्त्वपूर्ण र पवित्र मानिन्छ। जुनसुकै शुभकार्यका लागि घरबाहिर निस्कनुअघि, परीक्षा दिन जाँदा, नयाँ व्यवसाय सुरु गर्दा, र विदेश वा लामो यात्रामा निस्कँदा दही-अक्षताको टीका लगाउने र सगुनका रूपमा दही खुवाएर बिदाइ गर्ने परम्परा रहिआएको छ।
यसलाई सफलता र शुभ शकुनको प्रतीक मानिन्छ। ऐतिहासिक एवं पौराणिक किंवदन्ती अनुसार, गुरु गोरखनाथले नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने आशीर्वाद दिनुभएको उल्लेख समेत इतिहासमा पाइन्छ, जसले दहीको सामाजिक र ऐतिहासिक महत्त्वलाई पनि दर्शाउँछ।
दही केवल धार्मिक वा सांस्कृतिक रूपमा मात्र नभई वैज्ञानिक र आयुर्वेदिक दुवै दृष्टिले मानव स्वास्थ्यका लागि निकै हितकारी प्रमाणित भएको छ। आयुर्वेदको प्रसिद्ध उक्ति “भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्” ले पनि भोजनको अन्त्यमा नियमित रूपमा मोही वा दहीको सेवन गरेमा स्वास्थ्योपचारका लागि चिकित्सककहाँ धाइरहनु पर्दैन भन्ने कुरालाई पुष्टि गर्दछ।
वैज्ञानिक दृष्टिकोणबाट हेर्दा दहीमा ‘प्रोबायोटिक्स’ अर्थात् फाइदाजनक ब्याक्टेरिया प्रचुर मात्रामा पाइन्छ, जसले आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउनुका साथै पाचन शक्ति बलियो पार्छ। विशेष गरी पेटको गडबडी वा पखाला लागेका बेला दही र चिउराको सम्मिश्रणले तुरुन्तै औषधिको रूपमा काम गर्छ।
यसका साथै दही क्याल्सियम, प्रोटिन, भिटामिन बी-६ र भिटामिन बी-१२ को राम्रो स्रोत भएकाले यसले हड्डी र दाँतलाई मजबुत बनाउनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन ठूलो मद्दत गर्दछ। यसै बृहद् सांस्कृतिक, धार्मिक एवं स्वास्थ्यसम्बन्धी विशेषताका कारण असार १५ नेपाली समाजमा एक परिष्कृत र अभिन्न राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा स्थापित भएको छ।






डिसी नेपाल





Facebook Comment