फिफा विश्वकप २०२६: समूह चरणका ७२ खेल सकिँदा मैदानमा कीर्तिमानको वर्षा
काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरण रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको छ। पहिलोपटक ४८ टोलीको सहभागितामा आयोजना गरिएको यस विश्वकपले मैदानभित्र र बाहिर दुवै क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको फिफाले जनाएको छ।
क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा भइरहेको प्रतियोगिताको समूह चरणमा कुल ७२ खेलहरू खेलिएका थिए। यी खेलहरू प्रत्यक्ष हेर्न ४५ लाख ४४ हजार ५४९ दर्शक रंगशालामा पुगेका थिए भने फिफाका अनुसार खेल अवधिभर रंगशालामा करिब तीन लाख हटडग बिक्री भएका छन्।
समूह चरणमा ४८ राष्ट्रका १ हजार २४८ खेलाडीहरू सहभागी भएका थिए, जसमध्येबाट उत्कृष्ट ३२ टोलीले अब नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। नकआउटमा पुग्नेहरूमा युरोपबाट १२, अफ्रिकाबाट ९, दक्षिण अमेरिकाबाट ५, उत्तर तथा मध्य अमेरिकाबाट ३, एसियाबाट २ र ओसिनियाबाट १ टोली रहेका छन्।
यस संस्करणमा विशेष गरी अफ्रिकी टोलीहरूले ऐतिहासिक र अभूतपूर्व सफलता हासिल गरेका छन्। विश्वकप इतिहासमै पहिलो पटक नौवटा अफ्रिकी राष्ट्र एकैपटक नकआउट चरणमा पुग्न सफल भएका हुन्।
यसका साथै बोस्निया एन्ड हर्जगोभिना, केप भर्डे, क्यानडा, डीआर कंगो, कोट डिभ्वार, इजिप्ट र दक्षिण अफ्रिकाले पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेर नयाँ इतिहास रचेका छन्।
यसपटकको समूह चरणमा कुल २१५ गोल भएका छन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै संख्या हो। फिफाका अनुसार प्रति खेल औसत तीन गोल भएको छ, जसमा फ्रान्स, जर्मनी र नेदरल्यान्ड्सले समान १०-१० गोल गर्दै समूह चरणमा सबैभन्दा बढी गोल गर्ने टोलीको पहिचान बनाएका छन्।
खेलाडीहरूको व्यक्तिगत प्रदर्शनका हिसाबले पनि यो विश्वकप निकै कीर्तिमानी बनेको छ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले लगातार छ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्दै नयाँ इतिहास रचेका छन्, जससँगै विश्वकपमा उनको कुल गोल संख्या १९ पुगेको छ।
उनले ३८ वर्ष ३५७ दिनको उमेरमा ह्याट्रिक गर्दै विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने जेठो खेलाडीको कीर्तिमान समेत आफ्नो नाममा लेखेका छन्।
अर्का फुटबल नक्षत्र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकपमा आफ्नो गोल संख्या १० पुर्याउँदै महान खेलाडी युसेबियोलाई पछि पारेर पोर्चुगलका लागि सर्वाधिक विश्वकप गोलकर्ताको कीर्तिमान बनाएका छन्।
यस्तै, इंग्ल्यान्डका कप्तान ह्यारी केनले ११ गोलसहित ग्यारी लिनेकरको ओझेलमा परेको कीर्तिमान तोड्दै इंग्ल्यान्डका तर्फबाट सर्वाधिक विश्वकप गोल गर्ने खेलाडी बनेका छन्।
समूह चरणका खेलहरूमा विभिन्न देशले टोलीगत रूपमा पनि गौरवशाली रेकर्डहरू राखेका छन्। क्यानडाले कतारलाई ५-० ले पराजित गर्दै विश्वकप इतिहासमा एकै खेलमा चारभन्दा बढी गोल गर्ने पहिलो कन्काकाफ टोली बन्न सफल भयो।
अमेरिकाले पनि पाराग्वेमाथि ४-१ को सानदार जित निकाल्दै विश्वकपमा पहिलोपटक एकै खेलमा चार गोल गर्ने आफ्नै कीर्तिमान बनायो। जापानले ट्युनिसियालाई ४-० ले हराएको खेल विश्वकप इतिहासकै एक हजारौँ खेल बन्न पुग्यो।
त्यस्तै, मेक्सिकोले लगातार चार विश्वकप खेल जित्ने पहिलो कन्काकाफ राष्ट्रको कीर्तिमान बनाएको छ भने सेनेगल विश्वकपको एकै खेलमा पाँच गोल गर्ने पहिलो अफ्रिकी टोली बनेको छ।
फिफाका अनुसार समूह चरणमा खेलाडी, प्रशिक्षक र टोलीहरूले दर्जनौँ नयाँ कीर्तिमानहरू कायम गरेका छन्, जसले विश्वकप २०२६ लाई इतिहासकै सबैभन्दा ठूलो, भव्य र स्मरणीय संस्करण बनाएको छ।






डिसी नेपाल





Facebook Comment