काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र: २४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकाभित्र सडक अनुशासन पालना नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्र पारेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न स्थानमा सडक अनुशासन पालना नगर्ने १ हजार ५ सय ९२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ।
यसरी नियम मिच्ने चालकहरूलाई गरिएको कारबाहीबाट २४ घण्टाको अवधिमा मात्रै कुल २० लाख २४ हजार ५ सय ६१ रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस अवधिमा सबैभन्दा धेरै अन्य विभिन्न प्रकारका कसुरमा १ हजार ५८ जना चालकहरू कारबाहीमा परेका छन्।
त्यसैगरी सडक सुरक्षामा गम्भीर चुनौती थप्ने गरी मादक पदार्थ सेवन (मापेसे) गरेर सवारी चलाउने ७३ जना, तीव्र गतिमा सवारी कुदाउने ७८ जना, र व्यस्त चोकहरूमा रातो बत्तीको इशारा पालना नगर्ने ७४ जना चालकलाई प्रहरीले कारबाहीको दायरामा ल्याएको छ।
पछिल्लो समय नियमविपरीत सञ्चालन हुने गरेका ८७ वटा राइड सेयरिङका सवारीसाधन र सवारी साधनमा गैरकानुनी रूपमा कालो सिसा प्रयोग गर्ने ८७ जनालाई पनि कारबाही गरिएको छ।
यसका साथै सडक अनुशासनलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत लेन अनुशासन पालना नगर्ने ४७ जना, प्रतिबन्धित क्षेत्रमा ‘नो हर्न’ को नियम उल्लंघन गर्ने ५६ जना र एकतर्फी (वान वे) बाटो भएको ठाउँमा जबरजस्ती सवारी साधन लैजाने ३२ जना चालकहरू समेत ट्राफिक प्रहरीको फन्दामा परेका छन्।
उपत्यकाको यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउनुका साथै सडक दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले आगामी दिनहरूमा पनि यस्तो चेकिङ र कारबाही अभियानलाई अझ कडाइका साथ निरन्तरता दिने जनाएको छ।






डिसी नेपाल





Facebook Comment