अमेरिकासँग प्रत्यक्ष वार्ता हुने रिपोर्ट इरानद्वारा अस्वीकार, सम्झौता अनुगमनका लागि इरानी टोली दोहा जाँदै
तेहरान। इरानले संयुक्त राज्य अमेरिकासँग आगामी दिनमा कुनै पनि स्तरमा प्रत्यक्ष कूटनीतिक वार्ता नहुने स्पष्ट पार्दै त्यस्ता रिपोर्टहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानले हाल नयाँ राजनीतिक वार्ता सुरु गर्नुको सट्टा विद्यमान समझदारी पत्र (एमओयू) को प्राविधिक कार्यान्वयनलाई कडाइका साथ प्राथमिकता दिएको स्पष्ट पारेकाे तसनीम समाचार एजेन्सीले जनाएको छ।
सम्झौता कार्यान्वयनमा इरान सधैं प्रतिबद्ध रहेको विषयमा जोड दिँदै प्रवक्ता बाघाईले समझदारीको प्राविधिक अनुगमनका लागि इरानको एक विशेषज्ञ प्रतिनिधिमण्डल यसै हप्ता कतारको राजधानी दोहा जान लागेको घोषणा गरेका छन्।
प्रवक्ता बाघाईका अनुसार सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको छ। अहिले इरानले सम्झौताको अनुच्छेद ११ मा विशेष ध्यान केन्द्रित गर्दै ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई नजिकबाट पछ्याइरहेको छ, जसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रणलाई निर्देशित गर्दछ।
सोही समयमा अमेरिकी प्रतिनिधिहरूले गर्ने कतार भ्रमण इरानी प्रतिनिधिमण्डलको कार्यभारसँग पूर्ण रूपमा असम्बन्धित रहेको उल्लेख गर्दै बाघाईले यो अवधिमा थप कूटनीतिक कार्यक्रमहरू वा नयाँ वार्ता हुने बारे बाहिर आएका अनुमानहरूलाई खारेज गरिदिएका छन्।
अन्तिम सम्झौताका लागि औपचारिक वार्ताको चरणमा प्रवेश गर्नका लागि विशेष गरी समझदारीका धारा १, ४, ५, १० र ११ को सफल पहल र दिगो कार्यान्वयन आवश्यक रहने उनको भनाइ छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कतारको दोहामा मङ्गलबार इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेलगत्तै इरानको यस्तो आधिकारिक टिप्पणी सार्वजनिक भएको हो।
ट्रम्पको घोषणासँगै अमेरिकी विशेष दूत स्टिभ विटकोफ कतारको दोहा प्रस्थान गरिसकेको दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ। यसैबीच, इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले देखाउने व्यवहार र जवाफका आधारमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताएका छन्।
सोमबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै राष्ट्रपति पेजेस्कियनले आपसी समझदारी सधैँ दुईतर्फी मार्ग हुने उल्लेख गर्दै यदि अमेरिकी पक्षले सम्झौताको पूर्ण पालना गरेमा इरान पनि आफ्नो प्रतिबद्धतामा अडिग रहने प्रस्ट पारेका छन्।






डिसी नेपाल





Facebook Comment