वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी बन्द

डिसी नेपाल
१७ असार २०८३ ७:२९

चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय आकर्षणको रूपमा रहेको जंगल सफारी सेवा आजदेखि पूर्ण रूपमा बन्द भएको छ। वर्षात्को समयमा हुन सक्ने प्राकृतिक जोखिम र जैविक संवेदनशीलतालाई ध्यानमा राख्दै निकुञ्ज प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सफारी रोक्ने निर्णय गरेको हो।

निकुञ्जले हरेक वर्ष मनसुन अवधिभर सफारी बन्द गर्दै आएको छ भने मौसमको अवस्था हेरेर आगामी दसैँको आसपासबाट मात्रै निकुञ्जभित्रको सफारी पुनः सञ्चालनमा ल्याउने विगतको परम्परा छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षाका कारण निकुञ्जभित्रका कच्ची सडकहरू बिग्रिने, खोलाखोल्सामा बाढी आउने र रुख ढलेर बाटो अवरुद्ध हुने खतरा हुन्छ।

यसका साथै यो समय वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि समेत अत्यन्त अनुकूल र संवेदनशील हुने भएकाले सफारी बन्द गरिएको हो। चितवनको सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न नाकाहरूबाट निकुञ्जभित्र प्रवेश गर्ने व्यावसायिक जीप सफारी सेवा आजैदेखि रोकिएका छन्।

निकुञ्जभित्रको मुख्य क्षेत्रमा सफारी रोकिएको भए तापनि निकुञ्ज आसपासका सामुदायिक वनहरूमा हुने सफारी भने सुचारु नै रहने जानकारी अधिकारीहरूले दिएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा आउने अधिकांश पर्यटकहरूको पहिलो रोजाइ जीप सफारी मार्फत घने जङ्गल र दुर्लभ वन्यजन्तु हेर्ने हुने गर्दछ, जुन अब केही महिनाका लागि रोकिने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *