राष्ट्र बैंकले आज ४५ अर्बको ऋणपत्र निष्कासन गर्दै, दिउँसो ३ बजेसम्म बोलकबोल खुला
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बुधबार) ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख)’ बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।
केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार यस ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत सञ्चालन हुनेछ।
ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ भने आर्जित ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ। यस ऋणपत्रको साँवा भुक्तानी भने आगामी २०८४ साल असार १७ गते गरिने राष्ट्र बैंकले जनाएको छ।
यस बोलकबोल प्रक्रियामा न्यूनतम ५ करोड रुपैयाँ र त्यसपछि ५ करोडकै गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन योग्य मानिनेछन्।
यस प्रक्रियामा एउटै संस्थाले फरक-फरक ब्याजदर प्रस्ताव गरेर समेत बोलकबोल गर्न सक्नेछन्। राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थाबाट क्रमशः सुरु गरेर स्वीकृत ब्याजदर निर्धारण गर्ने रणनीति लिएको छ। यो ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।
स्वीकृत भएको बोल रकम निष्कासनकै दिन सम्बन्धित वित्तीय संस्थाको खाताबाट कट्टा गरिनेछ। यदि कुनै संस्थाको खातामा पर्याप्त मौज्दात नभएर स्वीकृत बोल रद्द हुन पुगेमा, त्यस्ता संस्थालाई आगामी ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने गरी कारबाही गरिने व्यवस्था छ।
यस ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सिआरआर) मा गणना गर्न पाइने छैन, तर वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ।
ऋणपत्र परिपक्व हुनुअघि साँवा फिर्ता नहुने र अन्य बाँकी प्रक्रियाहरू प्रचलित कानुन तथा व्यवस्थाअनुसार हुने केन्द्रीय बैंकले प्रष्ट पारेको छ।






डिसी नेपाल





Facebook Comment