बेरोजगार युवकले थप भात माग्दा चिनियाँ रेस्टुरेन्ट सञ्चालकद्वारा रोजगारीको अवसर

डिसी नेपाल
१८ असार २०८३ १३:५५

काठमाडौं । चीनको जियाङ्सू प्रान्तस्थित वुशी सहरमा आर्थिक संकटबाट गुज्रिरहेका एक बेरोजगार युवकलाई एक रेस्टुरेन्ट सञ्चालकले भोजनसँगै रोजगारीको समेत व्यवस्था गरिदिएका छन्। वान थर भएका ती युवकको रोजगारी गुमेपछि र थाती रहेको पारिश्रमिक समेत नपाएपछि उनी चरम आर्थिक अभावमा थिए।

दिनमा एक पटक मात्र भोजन गरिरहेका उनले एक अनलाइन फूड डेलिभरी एपमार्फत १२.८ युआनको फ्राइड राइस अर्डर गरेका थिए। अर्डर गर्ने क्रममा उनले रेस्टुरेन्टलाई एक भावनात्मक सन्देश लेख्दै आफ्नो बेरोजगारी र आर्थिक अवस्थाका कारण दिनमा एक छाक मात्र खान पाएको उल्लेख गर्दै केही थप भात पठाइदिन अनुरोध गरेका थिए।

ती युवकको अवस्थाप्रति सहानुभूति राख्दै ट्यान थर भएका रेस्टुरेन्ट सञ्चालकले उनलाई साविकको भन्दा बढी परिमाणमा खाना पठाइदिनुका साथै खानाको बट्टामा आफ्नो रेस्टुरेन्टमा प्रशिक्षार्थी कामदार (अप्रेंटिस) का रूपमा आबद्ध हुन लिखित निमन्त्रणा पठाएका थिए।

रेस्टुरेन्ट सञ्चालकको उक्त अफर स्वीकार गर्दै वानले त्यहाँ काम सुरु गरेका छन्। आफूलाई अपरिचित व्यक्तिबाट प्राप्त भएको मानवीय सहयोग र सहानुभूति समेटिएको भिडियो ती युवकले सामाजिक सञ्जालमा सेयर गरेपछि उक्त भिडियो चीनसहित विश्वभर भाइरल बनेको छ।

४ करोडभन्दा बढी पटक हेरिएको सो भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले संकटको घडीमा भोजनसँगै आत्मनिर्भर बन्ने अवसर प्रदान गर्ने रेस्टुरेन्ट सञ्चालकको सह्रानीय कार्यको उच्च प्रशंसा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *