नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

डिसी नेपाल
१८ असार २०८३ १७:३४

काठमाडाैं। काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारी साधनका यात्रुलाई अनावश्यक दुःख र हैरानी दिने २३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष टोलीले काठमाडौँ महानगरपालिका-२६ मा पर्ने बसपार्क आसपासको क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

नयाँ बसपार्क क्षेत्रमा जबर्जस्ती यात्रु तान्ने, झोला खोस्ने र विनाकारण मानसिक तथा भौतिक हैरानी दिने गरेको व्यापक जनगुनासो आएपछि ट्राफिक प्रहरीले सक्रियता बढाएको थियो।

सोही क्रममा विभिन्न जिल्ला घर भई हाल काठमाडौँमा रहेका डोलराज सेन, प्रदीप भुजेल, लोकदर्शन पाण्डे, सन्देश शाही, मिलन भण्डारी, रमेश खत्री, विकास घर्ती, किरण पुन, रोहित विक, सन्तोष शाही, शिवराज भट्टराई, कविराज रोकाय र प्रकाश खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै, पक्राउ पर्ने अन्य व्यक्तिहरूमा रवीन विश्वकर्मा, जितबहादुर मगर, कृष्णप्रसाद कठरिया, विजय नेपाली, पदम ओली, रिजन घर्तीमगर, कमल ज्ञवाली, दिपक न्यौपाने, मनोज साउद र प्रेम विष्ट रहनुभएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियन्त्रणमा लिइएका सबै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

नयाँ बसपार्क क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुका साथै सर्वसाधारण तथा यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीले यस्ता विकृतिविरुद्धको अभियानलाई पछिल्लो समय थप तीव्रता दिँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *