कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको जोखिम

डिसी नेपाल
१९ असार २०८३ ६:४३

काठमाडौं। मुलुकभर मनसुनी वायुको प्रवल प्रभाव कायम रहेकाले आज पनि देशका अधिकांश हिस्सामा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभरिको मौसम साधारणतया बदली अवस्थामा रहेको छ भने बागमती, कोशी र लुम्बिनी प्रदेशका केही भूभागमा अहिले पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। यस क्रममा देशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनुका साथै उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

पहाडी क्षेत्र मात्र नभई तराईका भूभागहरूमा पनि आज दिउँसो मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

मौसमको यो क्रम आज राति पनि निरन्तर रहने देखिन्छ। रातिको समयमा देशभर साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको आकलन गरिएको छ।

त्यसैगरी पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि रातिको समयमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र नदी तटीय एवं पहिरोको जोखिम भएका क्षेत्रमा उच्च सजगता राख्न अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *