मुस्ताङमा विदेशी पर्यटकको ऐतिहासिक आगमन: ६ महिनामै सवा दुई लाख बढीले गरे भ्रमण
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमनले नयाँ रेकर्ड कायम गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा मात्रै कुल ८० हजार २५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।
यसरी भित्रिएका पर्यटकमध्ये सार्क राष्ट्रका ७८ हजार ६७० जना र अन्य मुलुकका एक हजार ५८३ जना रहेका छन्।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तका अनुसार कुल भित्रिएका पर्यटकमध्ये ९८ दशमलव ०२ प्रतिशत सार्क राष्ट्रका र एक दशमलव ९७ प्रतिशत अन्य देशका नागरिक छन्, जसमा ९५ प्रतिशतभन्दा बढी हिस्सा भारतीय पर्यटकको रहेको छ।
यो आगमन अघिल्लो महिना र गत वर्षको तुलनामा निकै उच्च हो। यसअघि सन् २०२६ को मे महिनामा ६५ हजार ९९४ विदेशी पर्यटक मुस्ताङ आएका थिए, जसमा सार्कका ६१ हजार ७९८ र अन्य राष्ट्रका चार हजार १९६ जना थिए।
त्यस्तै, सन् २०२५ को जुन महिनामा कुल २० हजार ८६८ पर्यटकले मात्र मुस्ताङको भ्रमण गरेका थिए। गत वर्षको जुनसको तुलनामा यस वर्षको जुनमा मात्रै ५९ हजार ३९५ जना बढी विदेशी पर्यटक भित्रिएका छन्।
सन् २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा कुल दुई लाख २२ हजार ९९२ विदेशी पर्यटक मुस्ताङ भित्रिइसकेका छन्। यसमध्ये सार्क क्षेत्रका दुई लाख आठ हजार ११ जना र अन्य राष्ट्रका १४ हजार ९८१ जना रहेका छन्।
सन् २०२५ को पहिलो ६ महिनामा ९८ हजार ४८१ पर्यटक आएकोमा यस वर्ष सोही अवधिमा एक लाख २४ हजार ५११ जनाले आगमन वृद्धि भएको छ। जबकी सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको पूरा एक वर्षमा कुल एक लाख ६१ हजार १४२ विदेशी पर्यटकले मात्र मुस्ताङको भ्रमण गरेका थिए।
महानिर्देशक एवं एक्याप प्रमुख गुप्तका अनुसार छिमेकी देश भारतबाट विशेषगरी धार्मिक तीर्थाटनका लागि मुक्तिनाथको दर्शन गर्न आउने पर्यटकको सङ्ख्या अत्यधिक बढेको हो।
मुस्ताङ भित्रिने भारतीय पर्यटकमध्ये करिब ५० प्रतिशत त आफ्नै देशका निजी सवारीसाधन लिएर नेपाल आउने गरेका छन्। भारतीय पर्यटकहरूको यो बाक्लो उपस्थितिले मुस्ताङ मात्र नभई छिमेकी जिल्लाहरू म्याग्दी, बागलुङ र पर्यटकीय सहर पोखराका होटलहरू समेत पर्यटकले भरिभराउ भएका छन्। मुस्ताङ आउने अधिकांश भारतीय पर्यटकहरू मुक्तिनाथको दर्शन गरी सिधै फर्किने गरेका छन्।
अर्कातर्फ, सार्क बाहेकका अन्य राष्ट्रका विदेशी पर्यटकहरू भने मुख्य रूपमा पदयात्राका लागि आउने गरेका छन्। उनीहरू प्रसिद्ध राउन्ड अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत मनाङ हुँदै थोराङला पास गरेर मुस्ताङ भित्रिने गर्छन्।
साथै, केही पर्यटकहरू पोखरा–जोमसोम हवाईमार्ग तथा बेनी–जोमसोम सडकमार्गको प्रयोग गरेर पनि जोमसोम पुग्ने गरेका छन्। एक्याप लोमान्थाङका अनुसार मुस्ताङ भित्रिने कुल पर्यटकमध्ये अत्यन्तै न्यून अर्थात् करिब तीन प्रतिशतले मात्रै ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन्।






डिसी नेपाल





Facebook Comment