अमेरिका–इजरायल सम्बन्धमा खटपट: शान्ति वार्ता भाँड्न इजरायलद्वारा इरानी वार्ताकारहरूको हत्या प्रयास
काठमाडौं । इरानसँगको युद्ध अन्त्य गर्न र रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ पुनः खुला गराउने प्रयासमा जुटेको अमेरिकी प्रशासन र यसको प्रमुख सहयोगी इजरायलबीचको रणनीतिक मतभिन्नता सतहमा आएको छ।
अमेरिकी पत्रिका ‘द वासिङ्टन पोस्ट’ र ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित सनसनीपूर्ण रिपोर्टहरूका अनुसार, अमेरिकाले इरानसँग उच्च-स्तरीय शान्ति वार्ता गरिरहेका बेला इजरायलले इरानका शीर्ष वार्ताकारहरूको हत्या गर्ने योजना बनाएको आशंका अमेरिकी अधिकारीहरूले गरेका थिए।
यो आशंका यति गम्भीर थियो कि वासिङ्टनले आफ्नै प्रमुख सहयोगी इजरायलको योजना विफल पार्न क्षेत्रीय मध्यस्थकर्ताहरू मार्फत तेहरानलाई गोप्य रूपमा जीवनरक्षक गुप्तचर सूचना (लाइफ-सेभिङ इन्टेलिजेन्स) पठाउनुपरेको थियो।
अमेरिकी अधिकारीहरूका अनुसार इजरायलको निशानामा इरानका विदेशमन्त्री अब्बास अराघची र संसदका सभामुख मोहम्मद बगेर गालिबाफ रहेका थिए। यी दुवै नेता वासिङ्टनसँग जारी युद्धविराम र शान्ति सम्झौताका लागि इरानका तर्फबाट प्रमुख वार्ताकार हुन्।
फेब्रुअरी २८ मा सुरु भएको अमेरिका-इजरायलको संयुक्त सैन्य कारबाहीमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र अन्य कट्टरपन्थी कमाण्डरहरू मारिएपछि, बाँकी रहेका नेतृत्वमा अराघची र गालिबाफलाई तुलनात्मक रूपमा व्यावहारिक र लचिलो मानिएको थियो।
‘उनीहरूलाई मारे वार्ताको औचित्य समाप्त हुने थियो” वासिङ्टन पोस्टले एक वरिष्ठ अमेरिकी अधिकारीको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘यदि इजरायलले ती व्यक्तिहरूलाई मारेको भए, त्यसको सीधा अर्थ इरानका व्यावहारिक नेताहरूको अन्त्य हुनेथियो।’
अमेरिकी प्रशासनको बुझाइमा वार्ताको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा इरानको राजनीतिक नेतृत्वलाई सखाप पार्नु आत्मघाती कदम साबित हुन सक्थ्यो। यसले जारी शान्ति प्रयासलाई पूर्ण रूपमा ध्वस्त पार्ने मात्र नभई मध्यपूर्वमा फेरि कहिल्यै नियन्त्रण गर्न नसकिने गरी पूर्ण-स्तरको क्षेत्रीय युद्ध निम्त्याउने निश्चित थियो।
रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले पनि इजरायलको यस आक्रामक नीतिप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरिसकेका छन्। मार्च महिनामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, ‘यो अलि कठिन भइरहेको छ। इजरायलले त्यहाँ सबैलाई सखाप पारिसक्यो। म अब उनीहरू (इरानी राजनीतिक नेतृत्व) मारिऊन् भन्ने चाहन्न।’
न्युयोर्क टाइम्सले अप्रिल १२ मा घटेको एउटा अत्यन्तै संवेदनशील र नाटकीय घटनाको विवरण बाहिर ल्याएको छ। त्यस दिन इरानी सभामुख गालिबाफ इस्लामावाद (पाकिस्तान) मा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससहितका अधिकारीहरूसँगको गोप्य शान्ति वार्ता सकेर तेहरान फर्किँदै थिए।
इरानले इजरायली आक्रमणको उच्च जोखिम महसुस गरी आफ्नो प्रतिनिधिमण्डलको सुरक्षाका लागि पाकिस्तानी लडाकु विमान (फाइटर जेट) को हवाई एस्कर्ट समेत मगाएको थियो। तर, विमान इरानी आकाशतर्फ अघि बढ्दै गर्दा अमेरिकी गुप्तचर निकायले इराकको मार्ग हुँदै दुईवटा इजरायली लडाकु विमान इरानी वायुक्षेत्रमा प्रवेश गरेको र तिनीहरूको निशाना गालिबाफको विमान रहेको पत्ता लगायो।
अमेरिकाले तत्कालै पाकिस्तान र कतार जस्ता मध्यस्थकर्ता देशहरू प्रयोग गरी तेहरानलाई यसको सूचना दियो। सूचना पाउनासाथ गालिबाफको विमानलाई आकस्मिक रूपमा उत्तर-पूर्वी इरानको मशहाद सहरमा अवतरण गराइयो। विमानबाट जोगिएका सभामुख र उनको टोलीले त्यहाँबाट झण्डै आठ घण्टाको सडक यात्रा तय गरेर मात्र तेहरान पुग्न सफल भएका थिए।
प्रतिवेदनले अमेरिका र इजरायलबीचको सम्बन्धमा आएको तीव्र दरारको मुख्य कारण युद्धको दीर्घकालीन लक्ष्यमा रहेको भिन्नतालाई मानेको छ। युद्धको सुरुवातमा दुवै देश इरानमा ‘सत्ता परिवर्तन’ (रेजिम चेन्ज) गर्ने कुरामा सहमत थिए। तर, मार्च महिनाको मध्यतिर इजरायलले इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीको हत्या गरेपछि अमेरिकाको धैर्यता टुट्यो।
एक पश्चिमी अधिकारीले वासिङ्टन पोस्टसँग भनेका छन्, ‘टर्निङ प्वाइन्ट सर्वोच्च नेता खामेनीको हत्या थिएन, बरु लारीजानीको हत्या थियो। अमेरिका इरानमा वार्ता गर्न मिल्ने राजनीतिक व्यक्तित्वको खोजीमा थियो, तर अचानक इजरायलले उनलाई नै सिध्याइदियो।’
यस घटनापछि अमेरिकाले महसुस गर्यो कि नेतृत्व तह सखाप भए पनि इरानको सैन्य र धार्मिक संयन्त्र पूर्ण रूपमा ढल्नेवाला छैन। त्यसैले वासिङ्टनले आफ्नो रणनीति बदल्दै युद्ध अन्त्य गर्ने र विश्व व्यापारका लागि हर्मुज जलडमरू खुला गराउनेतर्फ ध्यान केन्द्रित गर्यो, जबकि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने अडानमा अडिग रहे।
इजरायलको कडा विरोध र वासिङ्टनभित्रै रहेका इजरायल समर्थक शक्तिशाली लबीहरूको चर्को दबाबका बाबजुद अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको वार्तालाई निरन्तरता दिने दृढता देखाएका छन्। यसैको परिणामस्वरुप अप्रिलमा प्रारम्भिक युद्धविराम र जुन महिनामा १४ बुँदे मार्गचित्र (फ्रेमवर्क एग्रिमेन्ट) को मस्यौदा तयार हुन सक्यो।
यस सम्झौताले इरानको आणविक कार्यक्रममा प्रतिबन्धको बदलामा उसलाई आर्थिक प्रतिबन्धहरूबाट राहत दिने बाटो खोल्दछ, जसलाई नेतन्याहूले इजरायलको सुरक्षामाथिको धोका भन्दै आएका छन्।
ह्वाइट हाउसका एक अधिकारीले वर्तमान अवस्थाबारे टिप्पणी गर्दै संक्षिप्त रूपमा भनेका छन्, ‘राष्ट्रपति ट्रम्प यो शान्ति प्रक्रिया निष्कर्षमा पुगेको हेर्न चाहनुहुन्छ।’ यद्यपि, आफ्नै मित्र राष्ट्रले दुश्मन देशलाई गुप्तचर सूचना दिएर इजरायली अपरेसन असफल पारेको यो खुलासाले आगामी दिनमा अमेरिका र इजरायलको कूटनीतिक सम्बन्धलाई कस्तो मोड दिने हो भन्ने कुराले विश्व राजनीति तरंगित बनेको छ।






डिसी नेपाल





Facebook Comment