काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने झन्डै दुई हजार चालक कारबाहीमा
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्र पारेको छ।
बितेका २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गर्ने एक हजार ८१३ जना सवारीचालक कारबाहीमा परेका छन्। यसरी नियम मिच्ने चालकहरूमाथि गरिएको कारबाहीबाट राज्यकोषमा कुल पाँच लाख २८ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा बढी अन्य विविध सवारी नियम पालना नगर्ने एक हजार ११० जना रहेका छन्।
त्यस्तै, सडक सुरक्षामा गम्भीर लापरबाही गर्दै तीव्र गतिमा सवारीसाधन हुइँक्याउने ११५ जना तथा सडकपेटी (फुटपाथ) मा जथाभाबी पार्किङ गर्ने ११७ जना चालकलाई प्रहरीले कारबाहीको दायरामा ल्याएको छ। पछिल्लो समय नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने प्रवृत्ति बढ्दै गएकाले त्यस्ता १०५ जना चालकलाई पनि नियन्त्रणमा लिई कारबाही गरिएको छ।
यसका साथै सडक अनुशासन कायम गराउने क्रममा लेन अनुशासन पालना नगर्ने १०२ जना र ट्राफिक सङ्केत बत्ती (रेड लाइट) उल्लंघन गर्ने ११९ जना सवारीचालक कारबाहीमा परेका छन्।
उपत्यकाको ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले तोकिएको निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना तथा ट्राफिक नियम विपरीत एकतर्फी (वान वे) सडकमा सवारी चलाउने ६५ जना चालकलाई समेत प्रहरीले कारबाही गरेको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि लिइने कडा नीति अन्तर्गत २४ घण्टाको अवधिमा मादक पदार्थ सेवन (मापेसे) गरी सवारी चलाउने नौ जना चालकलाई समेत ट्राफिक प्रहरीले फन्दामा पारेको छ।






डिसी नेपाल





Facebook Comment