उतारचढावबीच सुनचाँदीको मूल्यमा गिरावट, छापावाल सुन २ लाख ९० हजार ३०० मा झर्यो
काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि गत बिहीबार भने छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो, जुन शुक्रबार एकैदिन तोलामा ७ हजार २०० रुपैयाँले बढेको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ६०५ रुपैयाँ तोकिएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार यसको मूल्य प्रतितोला ४ हजार ४५० रुपैयाँ रहेको थियो।
अन्तरराष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड कायम हुँदै आएको व्यवसायीहरू बताउँछन्।
पछिल्लो समय विश्वव्यापी आर्थिक अस्थिरता र सुरक्षित लगानीका रूपमा सुनको माग बढ्दा अन्तरराष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि यसको मूल्य उच्च विन्दुमा पुगेको हो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार १७४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।






डिसी नेपाल





Facebook Comment