भैरहवादेखि कोरलासम्मको सडक चाँडै स्तरोन्नति गरी ‘पर्यटकीय राजमार्ग’ बनाइने
मुस्ताङ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गतको कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस्तो योजना सुनाएका हुन्।
मन्त्री पौडेलले देशको आर्थिक समृद्धिको मूल आधार नै पर्यटन क्षेत्र भएकाले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्गका रूपमा स्थापित गरिने स्पष्ट पारे।
यसका साथै सरकारले मुस्ताङ-डोल्पा सडकखण्डलाई पनि उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी उनले दिए।
मुक्तिनाथ क्षेत्रमा उचाइका कारण लेक लागेर (अल्टिच्युड सिकनेस) पर्यटकहरू बिरामी हुने समस्या जटिल बन्दै गइरहेको प्रति मन्त्री पौडेलले चिन्ता व्यक्त गरे। यो समस्याको दीर्घकालीन समाधानका लागि पर्यटकहरूका लागि ‘टाइम कार्ड’ लागू गर्न उनले सरोकारवाला निकायहरूलाई सुझाव दिए।
छलफलका क्रममा मुस्ताङका पर्यटनसम्बन्धी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय व्यवसायीहरूले मन्त्री पौडेलसमक्ष त्यहाँको पर्यटन क्षेत्रका सम्भावना र विद्यमान चुनौतीहरूबारे ध्यानाकर्षण गराएका थिए।






डिसी नेपाल





Facebook Comment