ऊर्जा र सेवा क्षेत्रको विस्तारले देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान, कृषि र उद्योग भने सुस्त

डिसी नेपाल
२२ असार २०८३ १२:४५

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको समग्र आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार विद्युत् उत्पादन तथा वितरण, बैंकिङ तथा बीमा, यातायात र व्यापार क्षेत्रमा आएको सुधारले समग्र आर्थिक वृद्धिलाई टेवा पुर्‍याएको हो।

तथ्यांक कार्यालयका अनुसार समीक्षा अवधिमा अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १६ वटा क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ। जसमध्ये विद्युत्, ग्यास तथा ऊर्जा क्षेत्र सबैभन्दा बढी २४.८८ प्रतिशतको उत्साहजनक गतिमा विस्तार भएको छ।

यसैगरी वित्तीय तथा बीमा क्षेत्र १०.२७ प्रतिशत, यातायात तथा भण्डारण ७.८३ प्रतिशत र थोक एवं खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।

ऊर्जा र सेवा क्षेत्रमा राम्रो सुधार देखिए पनि अर्थतन्त्रका मुख्य संवाहक मानिने कृषि र औद्योगिक क्षेत्रमा छाएको सुस्तताका कारण समग्र आर्थिक वृद्धिले अपेक्षित गति लिन सकेको छैन।

अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर मात्र १.५८ प्रतिशतमा सीमित भएको छ भने उत्पादनमूलक उद्योगको वृद्धिदर ०.५४ प्रतिशतले खुम्चिएको (ऋणात्मक) छ। यसका साथै सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर पनि १.५९ प्रतिशतले ऋणात्मक रहेको प्रतिवेदनमा उल्लेख छ।

निर्माण सामग्रीको आयातमा आएको मन्दी, धान उत्पादनमा देखिएको गिरावट र केही स्वदेशी वस्तुहरूको उत्पादन घट्नु नै आर्थिक वृद्धिदर सामान्य रहनुको मुख्य कारण भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

यद्यपि, ऊर्जा उत्पादनमा भएको वृद्धि र सेवा क्षेत्रको निरन्तर विस्तारले देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

मौसमी प्रभाव समायोजनपछिको विवरण (सिजनली एडजस्टेड) अनुसार चालू आवको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.५८ प्रतिशतले विस्तार भएको अनुमान छ।

यस्तो त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकले अर्थतन्त्रको छोटो अवधिको प्रवृत्ति र विभिन्न क्षेत्रको गतिविधिको सूक्ष्म चित्र प्रस्तुत गर्ने हुँदा यो राज्यको नीति निर्माण, योजना तर्जुमा र आर्थिक विश्लेषणका लागि महत्त्वपूर्ण आधार बन्ने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *