नयाँ बसपार्कमा मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु
काठमाडाैं। काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा मानव बेचबिखन र लागुऔषध दुर्व्यसनविरुद्ध एक साता लामो सचेतना कार्यक्रम सुरु भएको छ।
प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गो)गबुको संयुक्त आयोजनामा सुरु भएको यस अभियानको मुख्य उद्देश्य समाजमा लुकेर रहेका मानव बेचबिखनका घटना नियन्त्रण गर्नु र युवा पुस्तालाई लागुऔषधको कुलतबाट जोगाउनु रहेको छ।
विशेषगरी होटल, रेष्टुराँ, दोहोरी साँझ, विद्यालय तथा सार्वजनिक स्थलहरूमा एक सातासम्म विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने योजना बनाइएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले सुरक्षित र अपराधमुक्त समाज निर्माणका लागि नागरिक र प्रहरीबीचको सहकार्य अपरिहार्य हुने उल्लेख गरे।
उनले यो अभियान सफल पार्न समाजका सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले यस क्षेत्रमा व्याप्त यी समस्याहरू समाधान गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए।
यातायात क्षेत्रको संवेदनशीलतालाई औंल्याउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक सवारी साधनमार्फत लागुऔषधको ओसारपसार हुने गरेको र यसमा कतिपय चालक तथा सहचालकहरू समेत दोषी ठहरिने गरेको वास्तविकता प्रस्तुत गरे।
यसबाट बच्नका लागि यात्रु चढाउने र सामान ओसारपसार गर्ने समयमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो। स्थानीय तहको तर्फबाट टोखा नगरपालिका-९ का अध्यक्ष रामभक्त घिमिरेले गोंगबु क्षेत्रलाई सुरक्षित बनाउन स्थानीय सरकारले प्रहरीसँग निरन्तर सहकार्य गरिरहेको जानकारी दिए।
महर्षि कलेज पवित्रनगर र विएसटी कलेज बसपार्कका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमको व्यवस्थापन प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख शंकर श्रेष्ठले सम्हालेका थिए।






डिसी नेपाल





Facebook Comment