ट्रम्पको कडा चेतावनी र खामेनीको अन्त्येष्टिबीच हर्मुज जलघाँटीमा अर्को मिसाइल प्रहार

डिसी नेपाल
२३ असार २०८३ ११:२५

दुबई। इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि चलिरहेका बेला विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिने हर्मुज जलघाँटीमा फेरि एकपटक ट्यांकरमाथि प्रहार भएको छ।

ओमानको तट नजिक यात्रा गरिरहेको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्यांकरमा मंगलवार बिहान प्रहार भएपछि आगलागी भएको बेलायती सेनाले जनाएको छ।

बेलायतको युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ) का अनुसार ओमानको लिमाह क्षेत्र नजिक दक्षिणतर्फ गइरहेको उक्त ट्यांकरको बायाँ भागमा प्रक्षेप्य प्रहार भएको थियो। आगलागी भए पनि घटनाबाट कुनै वातावरणीय क्षति नभएको र सम्बन्धित निकायहरूले यसबारे अनुसन्धान अघि बढाएका छन्।

पर्सियन खाडी र ओमानको खाडी जोड्ने हर्मुज जलघाँटी विश्वकै सबैभन्दा व्यस्त ऊर्जा व्यापारिक मार्गमध्ये एक हो, जहाँबाट विश्वको करिब पाँचौँ भाग तेल तथा प्राकृतिक ग्यास ओसारपसार हुने भएकाले यो सुरक्षा घटनाले अन्तर्राष्ट्रिय बजार र इरान-अमेरिका तनावलाई थप जटिल बनाएको छ।

इरानी सरकारी टेलिभिजनले कतारबाट एलएनजी बोकेको ट्यांकर आक्रमणमा परेको जनाए पनि तेहरानले यसको औपचारिक जिम्मेवारी स्वीकार गरेको छैन।

यसअघि गत बिहीबार इरानको संयुक्त सैन्य कमान्डले जलघाँटीबाट गुड्ने सबै तेल ट्यांकरले स्वीकृत मार्ग प्रयोग गर्नुपर्ने र अमेरिकी सैन्य हस्तक्षेप भए त्यसको ‘द्रुत र निर्णायक’ जवाफ दिइने चेतावनी दिएको थियो।

डाटा विश्लेषण संस्था केप्लरका अनुसार गत सप्ताहन्तमा मात्र कम्तीमा १०८ वटा जहाजले विभिन्न मार्ग प्रयोग गर्दै हर्मुज जलघाँटी पार गरेका थिए भने ओमान र संयुक्त राष्ट्रसंघका निकायहरूले वैकल्पिक समुद्री मार्ग प्रयोग गर्ने प्रयासले यसअघि पनि क्षेत्रमा तनाव निम्त्याएको बताएका छन्।

अर्कातर्फ, जलघाँटी पूर्ण रूपमा खुलाउने, इरानको विवादास्पद आणविक कार्यक्रम सीमित गर्ने तथा फेब्रुअरी २८ देखि सुरु भएको युद्धको स्थायी अन्त्य खोज्ने उद्देश्यले अमेरिका र इरानबीच वार्ता अघि बढाउने प्रयास जारी रहे पनि खामेनीको अन्त्येष्टिका कारण यो वार्ता केही समयका लागि स्थगित भएको छ।

सोही क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न आग्रह गर्दै आवश्यक परे इरानको पूर्वाधार र ऊर्जा प्रणालीमाथि आक्रमण गर्न सकिने कडा चेतावनी समेत दिएका छन्।

दुवै पक्षबीच ६० दिनसम्म जहाजलाई शुल्कबिनै आवतजावत गर्न दिने अस्थायी सहमति भए पनि इरानले भविष्यमा समुद्री मार्गको नियन्त्रण र शुल्क असुलीको अधिकार कायम राख्नुपर्ने अडान लिएको छ, जसलाई अमेरिका र खाडी क्षेत्रका मुलुकहरूले अस्वीकार गरेका छन्।

यसैबीच, ८६ वर्षको उमेरमा निधन भएका अयातुल्ला अली खामेनीलाई उनको जन्मस्थल मशहदस्थित इमाम रेजा मन्दिरमा शनिबार दफन गरिएको थियो र हाल इरानको कोम सहरमा लाखौं शोकाकुल नागरिक अन्त्येष्टिमा सहभागी हुन भेला भएका छन्।

इरानी सरकारी टेलिभिजनले जामकारान मस्जिदतर्फ जाँदै गरेको जनसागरको दृश्य प्रसारण गरिरहँदा शोकयात्रामा खामेनी र उनका उत्तराधिकारी तथा नयाँ सर्वोच्च नेता अयातुल्ला मोजतबा खामेनीका तस्बिर बोकेका ब्यानर प्रदर्शन गरिएका छन्।

नयाँ सर्वोच्च नेता मोजतबा खामेनी भने युद्धका क्रममा भएको हवाई आक्रमणमा घाइते भएपछि सुरक्षित स्थानमा रहेको अनुमान गरिएकाले हालसम्म सार्वजनिक रूपमा अन्त्येष्टि कार्यक्रममा उपस्थित हुनुभएको छैन।

युद्धको उत्कर्षमा इजरायलले वरिष्ठ इरानी नेतृत्वलाई लक्षित आक्रमण गरेको र मोजतबा खामेनीलाई समेत निशाना बनाउने चेतावनी दिएको थियो। हाल अन्त्येष्टि र राष्ट्रिय शोकका कारण इरानका धेरै क्षेत्रमा सडक, हवाई सेवा तथा दैनिक गतिविधिमा व्यापक प्रतिबन्ध लगाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *