११४ ठूला ऋणीमाथि कडाइ गर्दै पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी
काठमाडौं। बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले प्रदेशभित्रका पाँच वटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने अन्तिम तयारी गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि सरोकारवालाहरूबीच भएको विशेष छलफलले सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुँरास बचत तथा ऋण सहकारी र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम यही असार मसान्तभित्रै रकम भुक्तानी गरिसक्ने गरी तीव्र रूपमा काम भइरहेको छ।
समितिका सदस्य रामेश्वर ढकालका अनुसार आगामी असार २७ गतेदेखि मसान्तसम्म साना बचतकर्ताहरूलाई रकम फिर्ता गर्ने पूर्ण योजना बनाइएको छ र हाल त्यसका लागि बचतकर्ताहरूको आवश्यक विवरण प्रमाणीकरण (भेरिफाइ) गर्ने कार्य भइरहेको छ।
बचतकर्ताहरूलाई रकम फिर्ता गर्नका लागि हालसम्म करिब ९ करोड रुपैयाँ रकम जम्मा भइसकेको छ। समितिले सिभिल, सुमेरु, लालीगुराँस र नेशनल नमोबुद्ध सहकारीका बचतकर्ताहरूलाई बढीमा १ लाख रुपैयाँसम्म तथा दर्शन सहकारीका बचतकर्ताहरूलाई १० हजार रुपैयाँसम्मको बचत रकम फिर्ता गर्ने नीतिगत योजना बनाएको छ।
यो व्यवस्था लागू भएसँगै ती पाँच सहकारीका करिब तीन हजार जना साना बचतकर्ताहरूले आफ्नो लामो समयदेखि रोकिएको रकम फिर्ता पाउनेछन्। समितिले सम्बन्धित साना बचतकर्ताहरूलाई आवश्यक प्रक्रियाका लागि अनामनगरस्थित समितिको कार्यालयमा तत्काल सम्पर्क राख्न समेत आग्रह गरेको छ।
लामो समयदेखि संकटमा परेका यी सहकारीहरूको व्यवस्थापन र बचत फिर्ताको प्रक्रियालाई सहज बनाउन समितिले यसअघि नै विभिन्न कानुनी र प्रशासनिक कदमहरू चालिसकेको छ।
यसै क्रममा समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाहरूका ११४ जना ठूला ऋणीहरूको नामावली समेत सार्वजनिक गरेको थियो।
सहकारीको रकम अपचलन गर्ने र समयमै ऋण नतिर्ने ती ठूला ऋणीहरूलाई सहकारी संस्थाबाट लिएको ऋण तथा ब्याज तत्काल चुक्ता गर्न कडा निर्देशन दिइएको थियो।
ऋणीहरूबाट रकम असुली गर्ने र सहकारीको सम्पत्ति व्यवस्थापन गर्ने प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा अन्य बाँकी रहेका ठूला बचतकर्ताहरूको रकम समेत क्रमशः फिर्ता गर्दै लाने समितिको योजना रहेको छ।






डिसी नेपाल





Facebook Comment