७२ वर्षपछिको सफलता: कोलम्बियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा
काठमाडौं। साविक विजेता अर्जेन्टिनापछि स्विट्जरल्यान्ड पनि जारी ‘फिफा विश्वकप-२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा आज बिहान सम्पन्न निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दक्षिण अमेरिकी पावरहाउस कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले अन्तिम आठको टिकट काटेको हो।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।
पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डका खेलाडीहरूले उत्कृष्ट मानसिक सन्तुलन प्रदर्शन गरे।
स्विट्जरल्यान्डका लागि कप्तान ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले बललाई जालीको दिशा दिँदै सफलता दिलाए। अर्कातर्फ कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र स्टार फरवार्ड लुइस डियाजले गोल गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन र कोलम्बिया अन्तिम १६ बाटै बाहिरिन पुग्यो।
यो जितसँगै इतिहासमा १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले ७२ वर्षपछि पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेर नयाँ इतिहास रचेको छ।
यसअघि सन् १९५४ मा आफ्नै देशमा आयोजित विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको स्विट्जरल्यान्ड त्यसयताका संस्करणहरूमा कि त समूह चरण कि त अन्तिम १६ को तगारो पार गर्न असफल रहँदै आएको थियो।
ऐतिहासिक पुनरागमनसहित लयमा देखिएको स्विट्जरल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि आगामी आइतबार इजिप्टलाई हराएर क्वाटरफाइनल पुगिसकेको साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ।






डिसी नेपाल





Facebook Comment