मूर्तिकलामै रमाउँदै इन्दिरा: आफ्नो सिर्जनाबाट बनेकी छिन् अरूका लागि प्रेरणा

डिसी नेपाल
२४ असार २०८३ ८:४१

चितवन, भरतपुर। चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित ‘डिभाइन आर्ट स्टुडियो’की सञ्चालिका इन्दिरा श्रेष्ठ नेपाली मूर्तिकलाको क्षेत्रमा सफल, स्थापित र प्रेरणादायी कलाकारका रूपमा परिचित बनेकी छिन्। बाल्यकालदेखि नै चित्रकला र मूर्तिकलाप्रति गहिरो रुचि राखेकी उनले आफ्नो प्रतिभालाई निरन्तर मेहनत, अध्ययन र सिर्जनशीलतामार्फत व्यवसायिक सफलतामा रूपान्तरण गरेकी छन्।

हाल उनका कलाकृतिहरू देशका विभिन्न स्थानमा सार्वजनिक स्थलहरूको आकर्षण बनेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्ति कार्यशालाहरूमा उनको सक्रिय सहभागिता रहँदै आएको छ। हालै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजित ‘मझुवागढी मूर्ति कार्यशाला’मा उनले साप्सु खोलाबाट ल्याइएको प्राकृतिक ढुङ्गामा कुँदेको ‘चरी अमिलीको पात’ शीर्षकको मूर्तिले विशेष प्रशंसा बटुलेको थियो।

इन्दिराले निर्माण गरेका मूर्तिहरूले नेपालका विभिन्न सहर र पर्यटकीय क्षेत्रको सौन्दर्य अभिवृद्धि गरेका छन्। भरतपुर विमानस्थल अगाडि राखिएको बाघको मूर्ति, बाँकेको कोहलपुर चौराहामा रहेका बाघ र हात्तीका मूर्तिहरू, भरतपुर–२२ कमलपोखरीमा स्थापित कमलको फूल तथा भरतपुर–२३ घैलाघारीमा रहेको घैलासहितको महिलाको मूर्ति उनका चर्चित सिर्जनामध्ये पर्छन्।

त्यस्तै, गोरखाको मनकामनामा हातले सुन्तला समातेको मूर्ति, रामपुरस्थित विश्वविद्यालय परिसरअगाडिको नौ फिट अग्लो मकै, चितवनको मेघौलीमा घैला बोकेको थारू महिलाको मूर्ति तथा नेपालगञ्जको चिल्ड्रेन पार्कमा राखिएका गैँडाको माउ–बच्चा, हात्ती र बाघका मूर्तिहरूले पनि उनको कलात्मक क्षमता झल्काउँछन्।

इन्दिराको कला यात्रामा उनका दाजु भीम श्रेष्ठको प्रेरणाले महत्त्वपूर्ण भूमिका खेलेको थियो। विद्यालय जीवनदेखि नै चित्रकला र पेन्टिङमा सक्रिय उनी चितवनको आदिकवि भानुभक्त माध्यमिक विद्यालयबाट अध्ययन पूरा गरेपछि ललितकला क्याम्पसबाट फाइन आर्टमा स्नातक तह उत्तीर्ण गरिन्।

स्नातकपछि केही समय काठमाडौंको सृजना क्याम्पसमा अध्यापन गरेकी उनले थप अध्ययनका लागि जर्मनी प्रस्थान गरिन्। त्यहाँ करिब छ वर्ष अध्ययन तथा अनुभव हासिल गरेपछि स्वदेशमै केही गर्ने उद्देश्यसहित नेपाल फर्किएकी हुन्।

नेपाल फर्किएपछि पछिल्ला करिब एक दशकदेखि उनी पूर्णकालीन रूपमा मूर्तिकारितामा सक्रिय छिन्। उनका अनुसार मेहनत, इमान्दारिता र जिम्मेवारीका साथ काम गर्न सके मूर्तिकला पनि राम्रो आम्दानी र सम्मान दिने व्यवसाय बन्न सक्छ।

उनले भनिन्, “जर्मनीबाट फर्किएपछि मूर्तिकारितामै निरन्तर लागिरहेकी छु। यो क्षेत्रमा इमान्दार भएर काम गर्न सकियो भने रोजगारीका लागि अन्यत्र भौँतारिनुपर्दैन।”

इन्दिराले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ कला प्रदर्शनी तथा मूर्ति कार्यशालामा सहभागिता जनाइसकेकी छन्। सन् २००५ मा आयोजित ‘आरम्भ’ र ‘हरमोनी’ सिम्पोजियमदेखि सन् २०२२ को देवदह राष्ट्रिय मूर्तिकला कार्यशालासम्म उनले आफ्नो सिर्जनात्मक उपस्थिति कायम राखेकी छन्।

उनको योगदानको सम्मानस्वरूप विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ। सन् २०१५ मा आयोजित राष्ट्रिय कला प्रदर्शनीको समकालीन मूर्तिकला विधामा प्रथम पुरस्कार प्राप्त गरेकी उनले सोही वर्ष ‘आर्ट फर नेचर’ अन्तर्राष्ट्रिय कार्यशालामा ‘सर्वोत्कृष्ट प्रकृति कलाकार’ सम्मान पनि हासिल गरिन्। सन् २०१८ मा ‘आशाकुमारी गुरुङ ललितकला पुरस्कार’बाट सम्मानित भएकी उनी हालै ‘नगेन आर्ट एकेडेमी’द्वारा प्रदान गरिएको ‘ललितकला डायमन्ड वर्ष नारी २०८३’ विशेष सम्मानबाट समेत विभूषित भएकी छन्।

इन्दिराले मूर्तिकलामार्फत आफू मात्र आत्मनिर्भर बनेकी छैनन्, आफ्नै ‘डिभाइन आर्ट स्टुडियो’मार्फत अन्य दुई जनालाई पनि रोजगारी उपलब्ध गराएकी छन्। उनका अनुसार करिब दुई महिनाको अवधिमा १० लाख रुपैयाँ बराबरका मूर्तिहरू निर्माण गर्न सकिन्छ, जसले मूर्तिकला व्यवसायको आर्थिक सम्भावना पनि उजागर गर्छ।

मूर्तिकलाको क्षेत्रमा भविष्य खोजिरहेका युवालाई उनले निरन्तर अभ्यास र धैर्यका साथ अघि बढ्न सुझाव दिन्छिन्।

उनले भनिन्, “बजारमा मूर्तिहरूको माग उत्साहजनक छ। त्यसैले ढुक्क भएर काम गरिरहनुपर्छ। कहिलेकाहीँ निराशा आउन सक्छ, तर त्यसबाट विचलित नभई आफ्नो सिर्जनात्मक यात्रालाई निरन्तर अगाडि बढाउनुपर्छ।”

नेपाली मूर्तिकलाको क्षेत्रमा इन्दिरा श्रेष्ठले सिर्जना गरेको पहिचान केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, कला, श्रम र समर्पणले नयाँ सम्भावना निर्माण गर्न सकिने प्रेरणादायी उदाहरण पनि हो। उनका कलाकृतिहरूले सार्वजनिक स्थलहरूलाई सुन्दर बनाइरहेका छन् भने उनको संघर्षपूर्ण यात्रा नयाँ पुस्ताका कलाकारहरूका लागि मार्गदर्शन बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *