सेतीको खोंच र हिमाल हेर्दै बञ्जीजम्प: पोखरा पुग्ने भारतीय युवाको पहिलो रोजाइ

डिसी नेपाल
२४ असार २०८३ १४:२८

गण्डकी। पर्यटकीय नगरी पोखरामा सञ्चालित साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण निकै बढेको पाइएको छ।

पोखरा महानगरपालिका-१७ रातोपैह्रामा बञ्जी नेपाल एडभेन्चर्स प्रालिले सञ्चालनमा ल्याएको बञ्जीजम्पमा यतिबेला भारतीय पर्यटकहरूको ठूलो भीड लाग्ने गरेको छ।

कम्पनीका अनुसार गत जेठ महिनामा मात्रै कुल ५०० जनाले बञ्जीजम्प गरेकामा त्यसको ५० प्रतिशत हिस्सा साहसिक भारतीय पर्यटकको रहेको थियो। भारतीय युवाहरूको आगमनमा भएको यो वृद्धिसँगै कम्पनीले जेठ महिनामा मात्रै ३७ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ।

पछिल्लो समय सडक तथा हवाई पहुँच सहज बन्दै जाँदा पोखरामा भारतीय पर्यटकको चाप बढेको र उनीहरू दैनिकजसो समूहमा बञ्जीजम्पका लागि पुग्ने गरेका छन्।

भारतीय पर्यटकबाहेक वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेशिएका नेपाली युवाहरू छुट्टीमा स्वदेश फर्किँदा पोखरा भ्रमणसँगै बञ्जीजम्पलाई आफ्नो मुख्य रोजाइ बनाउने गरेका छन्।

६ वर्षअघि पोखराका ११ जना युवा उद्यमीहरूले कुल ८ करोड २५ लाख रुपैयाँको संयुक्त लगानीमा यो प्रालि स्थापना गरेका थिए। क्यान्टिलिभर ब्रिजको डिजाइनमा निर्मित ३५ मिटर अग्लो टावर र सेती नदीको खोंचमा बनेको १०१ मिटर गहिराइको यो बञ्जीजम्पबाट प्राकृतिक दृश्यावलोकन गर्न पाउनु यसको मुख्य विशेषता हो।

हामफाल्ने क्रममा एकातर्फ माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला तथा अर्कातर्फ हरियाली खोंच देखिने भएकाले पर्यटकहरूले यसलाई जीवनकै अविस्मरणीय अनुभवका रूपमा लिने गरेका छन्।

हालसम्म १५ हजारभन्दा बढीलाई बञ्जीजम्प गराइसकेको यस कम्पनीले प्रतिव्यक्ति ७ हजार ५०० रुपैयाँ शुल्क लिने गरेको छ, जसमा फोटो, भिडियो र टिसर्ट उपहारको समेत व्यवस्था छ।

बञ्जी सञ्चालनमा आएसँगै यसले स्थानीय स्तरमा होटल, रेस्टुरेन्ट, यातायात र पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ भने हाल २० जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ। कम्पनीले वार्षिक रूपमा सरकारलाई २ देखि साढे २ लाख रुपैयाँसम्म राजस्व बुझाउँदै आएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार पोखरामा प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट जस्ता साहसिक खेलहरूसँगै बञ्जीजम्प पनि महत्त्वपूर्ण पर्यटकीय उत्पादनका रूपमा स्थापित भएको छ।

यस्ता गतिविधिले विदेशी मुद्रा आर्जन र युवा रोजगारीमा ठूलो योगदान पुर्‍याएका छन्। पोखराको मुख्य पर्यटकीय क्षेत्रबाट करिब ३ किलोमिटर दूरीमा रहेको यो गन्तव्यका कारण धेरै आन्तरिक पर्यटकको पोखरा बसाइ लम्बिने गरेको छ।

निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य गरेर यस्ता गन्तव्यलाई अझ व्यवस्थित बनाउन सके पोखराले अन्तर्राष्ट्रिय साहसिक पर्यटन क्षेत्रमा थप उचाइ हासिल गर्ने पर्यटन व्यवसायीहरूको विश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.