शिक्षण-सिकाइमा कृत्रिम बुद्धिमत्ताको प्रयोग समयसापेक्ष र अपरिहार्य: सरोकारवाला
काठमाडौँ। उच्च शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई समयसापेक्ष र अपरिहार्य बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
बुधबार राजधानीमा त्रिचन्द्र बहुमुखी क्याम्पस महिला प्राध्यापक तथा कर्मचारी सञ्जालको आयोजनामा भएको “कृत्रिम बुद्धिमत्तामैत्री शिक्षक बन्दै” विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सञ्जालकी उपाध्यक्ष डाक्टर लता घिमिरेले वर्तमान शैक्षिक परिवेशमा कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रशिक्षणको आवश्यकता र उपयोगितामाथि प्रकाश पारिन्। उनले महिला प्राध्यापक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
त्यस्तै भक्तपुर क्याम्पसको सञ्जालकी अध्यक्ष बसन्ती आचार्य, नेपाल विश्वविद्यालय प्राध्यापक संघ (नुटा) का अध्यक्ष, क्याम्पस प्रमुख तथा सञ्जालकी द्वितीय उपाध्यक्ष सलिना बास्कोटा लगायतले आधुनिक उच्च शिक्षामा कृत्रिम बुद्धिमत्ताको अवलम्बन अपरिहार्य भइसकेको बताइन्।

कार्यक्रमका स्रोत व्यक्ति आलोक खत्रीले कृत्रिम बुद्धिमत्ता (एआई) को वर्तमान अवस्था, शिक्षण–सिकाइ प्रक्रियामा यसको प्रभावकारी प्रयोग, कृत्रिम बुद्धिमत्तामैत्री शिक्षक बन्न आवश्यक सीप तथा आधुनिक शिक्षण पद्धतिबारे अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरे।
कार्यक्रमको समापन गर्दै सञ्जालकी अध्यक्ष विष्णुमाया खत्रीले भविष्यमा पनि शिक्षण, अनुसन्धान र व्यावसायिक विकाससँग सम्बन्धित यस्ता समयानुकूल कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक धन्यवाद समेत ज्ञापन गरिन्।
सञ्जालकी अध्यक्ष विष्णुमाया खत्रीको अध्यक्षतामा बुधबार सम्पन्न भएको उक्त एकदिने प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिचन्द्र बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्राध्यापक डाक्टर नीलम श्रेष्ठ रहेकी थिइन्।

विशिष्ट अतिथिहरूमा नेपाल प्राध्यापक संघका अध्यक्ष प्राध्यापक डाक्टर रमेशकुमार जोशी तथा त्रिभुवन विश्वविद्यालय सिनेट सदस्य डाक्टर अंगद मणि गौतम रहेका थिए। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, त्रिचन्द्र क्याम्पस एकाइका अध्यक्ष टीकाराम कैनी, सञ्जालका पूर्वअध्यक्षहरू एवं विभागीय प्रमुखहरूको उपस्थिति थियो।
सञ्जालकी सचिव डाक्टर रमिना महर्जनले सञ्चालन गरेको उक्त कार्यक्रममा करिब १५० जना प्राध्यापकहरूको सहभागिता रहेको थियो।







डिसी नेपाल





Facebook Comment