कर्णालीमा युवतिको शव फेला
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–४, डङ्डगेस्थित कर्णाली नदीमा बुधबार एक युवतीको शव फेला परेको छ। दिउँसो करिब ४ बजेतिर नदीको छालमा फेला परेको अन्दाजी १८ वर्षीया युवतीको शवको हालसम्म सनाखत हुन सकेको छैन।
घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, कालाखेत लैजाने प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।
प्रहरीले फेला परेको उक्त शव असार १८ गते दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, पाल्तडामा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता भएकी कालीकोटको रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जना खड्काको हुन सक्ने आशंका गरेको छ। सिर्जनाका परिवारलाई यसबारे जानकारी गराइसकिएको र उनीहरू शव सनाखतका लागि बिहीबार सुर्खेत आइपुग्ने प्रहरीले जनाएको छ।
गत असार १८ गते बिहान सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको उक्त फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। उक्त दुर्घटनामा परी अहिलेसम्म दुई जनाको शव फेला परिसकेको छ। दुर्घटना भएकै दिन कालीकोटका ४५ वर्षीय जेखे तिरूवाको शव भीरमा अड्किएको अवस्थामा फेला परेको थियो भने सोमबार बिहान कैलालीको मोहन्याल गाउँपालिका–६, सोल्टास्थित कर्णाली नदी किनारमा कालीकोटकै ६२ वर्षीय मेखे तिम्वाको शव फेला परेको थियो।
यसैबीच, दुर्घटनामा परेका गाडी चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय तुलसीराम सुवेदी र सहचालक ३१ वर्षीय रामप्रसाद सुवेदीको अवस्था अझै अज्ञात छ। प्रहरीले बेपत्ता अन्य यात्रुहरूको खोजी कार्य जारी राखेको जनाएको छ।






डिसी नेपाल





Facebook Comment