बल्खुमा यात्रुलाई सास्ती दिने १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुहरूलाई जबर्जस्ती गाडीमा चढाउने र हैरानी दिने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लामो समयदेखि बल्खु क्षेत्रमा हिँडडुल गर्ने यात्रुहरूलाई जबरजस्ती गाडीमा बसाल्ने, उनीहरूको सामान तथा झोला तान्ने र अभद्र व्यवहार गर्ने गरेको व्यापक जनगुनासो आएको थियो। सोही गुनासोका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकका सुमन लामा, अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन मगर, बाराका अजयराम महरा, कलाम हवारी, कृष्ण गोपाल चौधरी र तेजबहादुर खड्का रहेका छन्।
त्यस्तै, पर्साका तीर्थ मल्लिक र दामोदर प्रसाद साह, चितवनका राम कृष्ण गिरी र सन्तोष स्याङ्तान, उदयपुरका बसन्त कार्की, सर्लाहीका सिकिन्दर महतो, मकवानपुरका महेश राई, स्याङ्जाका दिवस क्षेत्री र भारत बिहारका अंकित कुमार रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनीहरूमाथि प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।






डिसी नेपाल





Facebook Comment