बालमन्दिर ठगी प्रकरण: पूर्वसदस्य-सचिवसहित तीन जना सीआईबीको फन्दामा
काठमाडौं। काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को अर्बौं मूल्य बराबरको सरकारी जग्गा र संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
ठगी तथा आपराधिक विश्वासघातको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्राेतले जनाएकाे छ।
पक्राउ पर्नेहरूमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन्।
पक्राउ परेका व्यक्तिहरू बाल संगठनका तत्कालीन सदस्य तथा सदस्य-सचिव हुन्। बालमन्दिरको स्वामित्वमा रहेको बहुमूल्य जग्गा कौडीको भाउमा निजी व्यावसायिक घरानालाई लिज (भाडा) मा दिएर संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्याएको र रकम हिनामिना गरेको विषयमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदनका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
यसअघि बालमन्दिरको जग्गा लिज प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीले लामो समयदेखि अनुसन्धान गरिरहेका थिए।
बाल संगठनका तत्कालीन पदाधिकारीहरूले संस्थाको हितविपरीत अनुकूल कानुन र प्रक्रिया मिचेर चलखेल गरेको प्रतिवेदनमा औंल्याइएको थियो। सोही प्रतिवेदन र प्रमाणका आधारमा बुधबार राति ब्युरोको विशेष टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
बुधबार राति पक्राउ परेका तीनै जना आरोपीहरूलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि बिहीबार म्याद थप गर्न काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने सीआईबीको तयारी छ।
यस प्रकरणमा अन्य थप कयौँ हाइप्रोफाइल व्यक्तिहरू र बिचौलियाहरू समेत अनुसन्धानको घेरामा रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको ब्युरो स्रोतले जनाएको छ।






डिसी नेपाल





Facebook Comment