इजिप्टको आरोप निराधार, रेफ्रीहरूको निष्ठामाथि शंका गर्न मिल्दैन: फिफा रेफ्री प्रमुख कोलिना
काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका मुख्य रेफ्री अधिकारी पिएरलुइजी कोलिनाले विश्वकप खेल सञ्चालन गर्ने रेफ्रीहरूको निष्ठामाथि कसैले पनि प्रश्न उठाउन नसक्ने स्पष्ट पारेका छन्।
विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ अन्तर्गत इजिप्ट र अर्जेन्टिनाबीचको खेलपछि इजिप्टले लगाएका आरोपहरूलाई ‘निराधार’ भन्दै उनले रेफ्रीहरूको बचाउ गरेका हुन् । उक्त खेलमा इजिप्ट अर्जेन्टिनासँग ३-२ गोल अन्तरले पराजित भएको थियो।
मङ्गलवार इजिप्टको फुटबल संघले फिफा समक्ष औपचारिक माग राख्दै उक्त खेल खेलाउने रेफ्री टोलीलाई जारी विश्वकपका बाँकी खेलहरूबाटै निष्कासन गर्न आग्रह गरेको थियो।
खेलको दोस्रो हाफमा दुईवटा फलका निर्णयहरू आफ्नो विरुद्धमा गएको र त्यसैको मद्दतले अर्जेन्टिनाले २-० को स्थिति उल्टाउँदै खेल जितेको दाबी इजिप्टको छ। इजिप्टले खेल अधिकारीहरूले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाउँदै यसको अनुसन्धान गर्न माग गरेको थियो।
इजिप्टको सोही आरोपको खण्डन गर्दै फिफा रेफ्री प्रमुख कोलिनाले भने, “खेलका निर्णयहरूका बारेमा रचनात्मक छलफल हुनु फुटबलको एउटा हिस्सा हो, तर हाम्रो खेलमा यस्ता निराधार आरोपहरूको कुनै स्थान छैन।” उनले अगाडि थपे, “फिफा विश्वकपका म्याच अफिसियल (खेल अधिकारी) हरूको इमानदारितामाथि कसैले प्रश्न उठाउन सक्दैन। यस्ता आरोपहरूले रेफ्री र उनीहरूको परिवारमाथि खतरा पैदा हुने खालका प्रतिक्रियाहरू निम्त्याउन सक्छ, जुन कदापि सही होइन।”
उक्त विवादास्पद खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि अन्याय भएको आक्रोश व्यक्त गरेका थिए । हसनले भनेका थिए, “शायद उनीहरू वर्तमान विश्व विजेतालाई प्रतियोगितामा टिकाइराख्न चाहन्थे। शायद उनीहरू मेसी खेलमै रहून् भन्ने चाहन्थे।”
प्रशिक्षक हसनको सो भनाइप्रति लक्षित गर्दै कोलिनाले फिफाको रेफ्री प्रणालीलाई कसैले पनि, यहाँसम्म कि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले समेत प्रभाव पार्न नसक्ने दाबी गरे। उनले भने, “अध्यक्ष इन्फान्टिनोले सधैँ रेफ्री टोलीलाई पूर्ण समर्थन गर्नुभएको छ र हामीलाई पूर्ण स्वतन्त्रताका साथ काम गर्ने विश्वास दिलाउनुभएको छ। खेलाडी र प्रशिक्षकहरूले जस्तै खेल अधिकारीहरूले पनि सधैँ आफ्नो उत्कृष्ट दिने प्रयास गर्दै इमानदार निर्णयहरू लिने गर्दछन्।”
यसैबीच, बोस्निया एण्ड हर्जगोभिना विरुद्धको खेलमा रातो कार्ड पाएका अमेरिकी खेलाडी फोलारिन बालोगनमाथिको स्वचालित प्रतिबन्ध कायम नराख्ने फिफाको निर्णयको पनि व्यापक आलोचना भइरहेको छ।
युरोपेली फुटबलको गभर्निङ बडी (युइएफए) ले फिफाको यस कदमलाई “अभूतपूर्व, बुझिनसक्नु र औचित्यहीन” भनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले फिफालाई सो निर्णयको पुनरावलोकन गर्न आग्रह गरेको बताएका छन् ।
खेलको दोस्रो हाफमा इजिप्र १-० ले अगाडि रहेको अवस्थामा मोस्तफा जिकोले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले रद्द गरिदिएको थियो। उक्त मुभको सुरुवातमा इजिप्टका मिडफिल्डर मारवान अट्टियाले अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजको खुट्टामा कुल्चिएको पाइएपछि भीएआरले गोल नदिने निर्णय गरेको थियो।
त्यसको केही समयपछि अर्जेन्टिनाको पेनाल्टी बक्सभित्र इजिप्टका मोहम्मद सलाहमाथि फल भएको भन्दै पेनाल्टीको माग गरिएको भए पनि रेफ्रीले त्यसलाई अस्वीकार गरेका थिए। सोही मुभको केही सेकेन्डभित्रै अर्जेन्टिनाले काउन्टर अट्याक गर्दै खेलको इन्जुरी समयमा निर्णायक गोल गरेको थियो।
यस्ता ठुला प्रतियोगिताहरूमा ‘विशेष घटना’ माथि सामान्यतया टिप्पणी नगर्ने फिफाको परम्परा विपरीत कोलिनाले ती दुवै निर्णयहरू सही भएको पुष्टि गरेका छन् ।
उनले भने, “प्रत्येक गोल भएपछि भीएआरले ‘अट्याकिङ पजेसन फेज’ को जाँच गर्छ। यदि गोल हुनुअघिको मुभमा कुनै फल भएको देखियो र त्यसले गोलमा प्रभाव पारेको पाइयो भने भीएआरले मैदानका मुख्य रेफ्रीलाई ‘अन-फिल्ड रिभ्यु’ (स्क्रिन हेर्न) को सुझाव दिन्छ।” यसका लागि गोल भएको दूरी वा समयको कुनै निश्चित सीमा नहुने उनले प्रस्ट पारे।
अर्जेन्टिना र इजिप्टबीचको खेलको उदाहरण दिँदै कोलिनाले भने, “इजिप्टका १९ नम्बरका खेलाडी मारवान अट्टियाले अर्जेन्टिनाका ६ नम्बरका खेलाडी लिसान्ड्रो मार्टिनेजको खुट्टामा स्पष्ट रूपमा कुल्चिएका छन्। हाम्रो बुझाइमा फल भनेको फल नै हो। त्यो फल मैदानमा रेफ्रीले नदेखेको खण्डमा भीएआरले हस्तक्षेप गर्न सक्छ।”
त्यस्तै, मोहम्मद सलाहको प्रसङ्गमा स्पष्टीकरण दिँदै उनले विपक्षीको खुट्टामा कुल्चिनु फल भए पनि डिफेन्डरले पहिले बल छोएर सामान्य कन्ट्याक्ट (सम्पर्क) गर्छ भने त्यसलाई फल मान्न नसकिने बताए।
खेलको अन्तिम समयमा इजिप्टका १० नम्बरका खेलाडी मोहम्मद सलाह र अर्जेन्टिनाका ९ नम्बरका खेलाडी जुलियन अल्भारेजबीच भएको ट्याकललाई रेफ्री र भीएआर दुवैले सामान्य फुटबल कन्ट्याक्ट मानेका थिए। कोलिनाले केही निर्णयहरूमा केही हदसम्म व्यक्तिपरक दृष्टिकोण रहने भए पनि समग्र प्रतियोगिताभरि यो नियम जसरी लागू गरिएको छ, त्यसमा फिफा सन्तुष्ट रहेको उल्लेख गरे।






डिसी नेपाल





Facebook Comment