“मलाई गाली गर्नुहोस्, तर मेरो परिवारलाई होइन”: रंगशालाका अभियन्ता धर्मुसको भावुक अपिल
काठमाडौं । वर्षौँदेखि गाली, बदनामी, धम्की र चरित्रहत्यासम्मका आरोप सहँदै आएको बताउँदै सामाजिक अभियन्ता तथा कलाकार धर्मुस (सीताराम कट्टेल) ले आफ्नो परिवारलाई निशाना नबनाउन सबैसँग भावुक अपिल गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो सन्देशमा आफूले देश र समाजका लागि काम गर्ने क्रममा अनेकौँ मानसिक पीडा भोग्नुपरेको उल्लेख गर्दै, त्यसको असर आफ्नो परिवारले पनि असह्य रूपमा झेल्नुपरेको बताएका हुन्।
धर्मुसले आफू र उनकी पत्नी कुञ्जना घिमिरे (सुन्तली) ले समाजका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्दा निरन्तर गाली, धम्की र अपमान सहनुपरेको स्मरण गरेका छन्। “मार्छु, काट्छु” भन्ने धम्कीदेखि लिएर चरित्रहत्यासम्मका आरोप खेपेर पनि देश र समाजका लागि केही गर्ने उद्देश्यबाट आफूहरू कहिल्यै पछि नहटेको उनले बताएका छन्।
उनका अनुसार कुञ्जना स्वभावले निडर, साहसी, मिलनसार, हँसिलो र अरूको दुःख देख्न नसक्ने सामाजिक भावना भएकी व्यक्ति हुन्। तर, रंगशाला निर्माण अभियानको सुरुदेखि नै उनी यसमा सहभागी हुन इच्छुक थिइनन्। धर्मुसका अनुसार कुञ्जनाले पटक–पटक आफूहरू धेरै सामाजिक काम गरिसकेको, अब छोरीको उपचार र परिवारमा ध्यान दिनुपर्ने भन्दै रंगशाला निर्माणको जिम्मेवारी नलिन आग्रह गरेकी थिइन्।
तर आफूले यो अभियानलाई देश र नेपाली जनताको सपना तथा राष्ट्रिय जिम्मेवारीका रूपमा व्याख्या गर्दै एक दिन राज्य र जनताले यसको मूल्य बुझ्ने विश्वास दिलाएको धर्मुसले उल्लेख गरेका छन्। आफ्नै खुसी त्यागेर आफ्नो विश्वास र अभियानमा साथ दिएको भन्दै उनले पत्नी कुञ्जनाको त्यागको प्रशंसा गरेका छन्।
धर्मुसका अनुसार अभियानको अन्त्यतिर आइपुग्दा कुञ्जनाले कल्पना गर्न नसकिने मानसिक पीडा सहनुपर्यो। उनले अहिले पनि आफ्नी पत्नी भित्रभित्रै पीडामा बाँचिरहेको उल्लेख गर्दै, मनको दुःख बिर्सन कहिलेकाहीँ टिकटकमा आउने गरे पनि त्यहाँ समेत केही व्यक्तिले अपमान, गाली र नकारात्मक टिप्पणी गरेर थप पीडा दिने गरेको बताएका छन्।
यसै सन्दर्भमा उनले सबैसँग भावुक अनुरोध गर्दै भनेका छन्, “यो अभियानको जिम्मेवार म हुँ, मेरो परिवार होइन। मैले देश र नेपाली जनताको खुसीका लागि काम गरेको हुँ। यदि गाली गर्नै छ भने मलाई गर्नुस्। तर कृपया मेरी पत्नी कुञ्जना, मेरी छोरी र मेरो परिवारलाई गाली नगर्नुहोस्। उहाँहरूलाई मानसिक पीडा दिने काम नगरिदिनुहोस्।”
उनले सामाजिक सञ्जालमा सभ्यता, संस्कार र मानवताको संरक्षण गर्नुपर्नेमा जोड दिँदै विचार फरक हुन सक्ने भए पनि कसैको आत्मसम्मानमाथि आक्रमण गर्नु उचित नहुने बताएका छन्। इनबक्स वा सामाजिक सञ्जालमार्फत विष फैलाउने, अपमान गर्ने र मानसिक पीडा दिने व्यवहार त्याग्न उनले सबैलाई आग्रह गरेका छन्।
सन्देशको अन्त्यमा धर्मुसले आफूहरूले जति नै पीडा भोगे पनि आज पनि सम्पूर्ण नेपालीको उन्नति, प्रगति, सुख र समृद्धिको कामना गरिरहेको उल्लेख गरेका छन्। उनले भगवान् पशुपतिनाथसँग सबैको कल्याणको प्रार्थना गर्दै आफ्नो सन्देश टुंग्याएका छन्।






डिसी नेपाल





Facebook Comment