विदेशी शैक्षिक कार्यक्रम नियमनमा कडाइ: अनुमति नलिने संस्थालाई कारबाहीको चेतावनी

डिसी नेपाल
२६ असार २०८३ १२:१७

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले ए-लेभल, सिबिएसइ, आइबिडिपीलगायतका विदेशी शैक्षिक कार्यक्रमहरू मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमहरूको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन गत बुधबारको मन्त्रिपरिषद् बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गरेसँगै मन्त्रालयले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गरेको हो।

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलका अनुसार केही शैक्षिक संस्थाहरूले आवश्यक अनुमति नै नलिई यस्ता विदेशी कार्यक्रमहरू सञ्चालन गरिरहेका पाइएकाले उनीहरूलाई कानुनी व्यवस्थाबारे पुनः सचेत गराइएको हो।

यसैबीच, मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका त्यस्ता संस्थाहरूबारे जानकारी भएमा तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना उपलब्ध गराउन सरोकारवाला सबैसँग आग्रह समेत गरेको छ।

मुलुकको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने मूल उद्देश्यका साथ लागू गरिएको यस नयाँ नियमावलीअन्तर्गत अबदेखि विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन भइरहेका सबै शैक्षिक कार्यक्रमहरूका लागि नयाँ मापदण्ड लागू हुने मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *