गणेश नेपालीको पुर्खौली गाउँ शोकमा: परिवारलाई उचित क्षतिपूर्ति र अभिभावकत्व दिन माग
मुगु । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्दा ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको पुर्खौली गाउँ शोकमा डुबेको छ। मुगुको सोरु गाउँपालिका–१, जलधारास्थित गणेश जन्मिएको घर यतिबेला सुनसान छ।
सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घण्टाको दूरीमा रहेको यो गाउँ गणेशको निधनको खबरले मर्माहत बनेको छ। गाउँमा रोजीरोटीको विकल्प नभएपछि गणेश आफ्नो परिवारका साथ भक्तपुरमा बस्दै आएका थिए। उनले काठमाडौँमा राइड सेयरिङ (पठाओ) मार्फत मोटरसाइकल चलाएर परिवारको पालनपोषण गरिरहेका थिए।
भाडाको मोटरसाइकल र कमजोर आर्थिक अवस्था
स्थानीय पदमबहादुर मल्लका अनुसार गणेशको पारिवारिक आर्थिक अवस्था निकै कमजोर थियो। उनले पठाओका लागि प्रयोग गरिरहेको मोटरसाइकल समेत भाडामा लिएको खुल्न आएको छ। यस्तो संवेदनशील अवस्थामा पीडित परिवारलाई राज्यले उचित रेखदेख र संरक्षण गर्नुपर्ने मल्लले बताए।
अर्का स्थानीय सुरेश शाहीले गणेशको परिवारको आयस्तर न्यून रहेको र गाउँमा भएको थोरै जग्गाजमिन पनि बाँझो अवस्थामा रहेको जानकारी दिए। गरिबीकै कारण एउटा ऊर्जावान् युवकले ज्यान गुमाउनुपरेको भन्दै शाही र मल्लले आक्रोश र दुःख व्यक्त गरे। उनीहरूले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिएर राज्य भएको अनुभूति गराउन माग गरेका छन्।
महानगर प्रहरीको ह्वील लक र विवादपछिको घटना
भक्तपुरमा डेरा गरी बस्ने गणेशले बिहीबार राहदानी विभाग अगाडि रोकिराखेको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्वील लक लगाएर लैजाने प्रयास गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार सोही क्रममा महानगर प्रहरी र गणेशबीच विवाद भएको थियो।
महानगर प्रहरीको व्यवहार र तनाव सहन नसकी उनले त्यहीँ आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर घाइते भएका गणेशलाई तत्कालै उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो।
उपचारकै क्रममा वीर अस्पतालमा निधन
अस्पताल भर्ना गरिएका गणेशको स्वास्थ्य अवस्था निकै चिन्ताजनक रहेको थियो। चिकित्सकहरूले उनलाई थप उपचारका लागि नयाँ दिल्ली रिफर गर्ने तयारी गरे तापनि स्वास्थ्य अवस्था थप बिग्रने खतराका कारण स्थानान्तरण गर्न सकिएको थिएन।
अन्ततः उपचारकै क्रममा शुक्रबार बिहान वीर अस्पतालमा उनको दुःखद निधन भयो। आर्थिक अभाव र सहरी व्यवस्थापनका नाममा सिर्जित तनावका कारण एक विपन्न परिवारले आफ्नो मुख्य कमाउने सदस्य गुमाउनुपरेको भन्दै गाउँलेहरू आक्रोशित र शोकमग्न छन्।






डिसी नेपाल





Facebook Comment