गोलभेँडाले मूल्य नपाउँदा कृषकहरू चिन्तित
पाँचथर। यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन्। गोलभेँडा उत्पादनको लागत बढे पनि मूल्य गत वर्षभन्दा आधा कम भएपछि कृषकहरु समस्यामा परेका हुन्।
ठूलो परिमाणमा गोलभेँडा उत्पादन हुने याङवरक गाउँपालिका–६ का कृषक नवीन श्रेष्ठ गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु समस्यामा परेको बताउँछन्। “मूल्य कम भए पनि बजारसम्म पठाउनै पर्यो, उत्पादन फाल्न सकिएन”, श्रेष्ठले भने, “तर यसपालि किसानलाई फाइदा छैन। विषादीदेखि उत्पादनसम्ममा धेरै लगानी भएको हुन्छ। हामी किसानलाई घाटै घाटा छ।”
अहिले यहाँ गोलभेँडा प्रतिकिलो रु १५ देखि १७ मा बिक्री भइरहेको छ। गत वर्ष औषतमा प्रतिकिलो रु ३० मा बिक्री भएको थियो। “प्रतिकेजी रु ३० भन्दा कममा बिक्री हुँदा घाटा हुन्छ, अहिले प्रतिकेजी रु १५ मा बिक्री भइरहेको छ”, उनले भने।
किसान आइतराज योङहाङका अनुसार अहिले गोलभेँडा उत्पादनबाट कृषकहरुले फाइदा लिन मूल्य प्रतिकिलो रु ३० भन्दा माथि पुग्नुपर्छ। अहिलेको मूल्यले लगानी उकास्न पनि मुस्किल परेको योङहाङको गुनासो छ। “विगतमा राम्रो फाइदा भएकाले कृषकहरुले धेरै टमाटर (गोलभेँडा) को खेती गरेका छौँ। तर यसपालि लगानी पनि उकास्न नसकिने भयो”, योङहाङले भने।
कृषक सीता पौडेल मिश्रका अनुसार अहिले मल्चिङ गरेर मात्रै गोलभेँडा फलाउन सकिन्छ। मल्चिङ गर्दा उत्पादन लागत बढेको छ। तर अहिले मूल्य कम हुँदा निमेक (परिश्रम) नै नउठ्ने अवस्था आएको मिश्रको भनाइ छ।
गोलभेँडाको व्यवसाय गर्दै आएका याङवरक–६ का लेखप्रकाश खेवाङका अनुसार गोलभेँडाको बजार मूल्य घटबढ भइरहने गर्दछ। पूर्वी पहाडमा उत्पादित गोलभेँडाको मुख्य बजार पूर्वी तराई हो। बाहिरबाट पूर्वी तराईका बजारमा गोलभेँडा आउँदा यहाँका कृषकले राम्रो मूल्य नपाएको खेवाङको भनाइ छ।
“अहिले हामीले कृषकहरुबाट प्रतिकिलो रु १५–१६ मा खरिद गर्नुपर्ने अवस्था छ”, खेवाङले भने, “अहिले झापा, मोरङ र सुनसरीका बजारमा बाहिरबाट गोलभेँडा थुप्रिदा मूल्य घटेको हो। अहिले काठमाडौंतर्फबाट पनि गोलभेँडा झापाका बजारमा आउने गरेको छ।”
विगतमा यहाँका कृषकहरुले प्रतिकिलो रु ५० भन्दा बढी पनि मूल्य पाएको खेवाङको भनाइ छ। उनका अनुसार विगतमा यहाँको गोलभेँडा भारतमा पनि निर्यात हुन्थ्यो। तर अहिले भारतमा निर्यात हुनुको सट्टा भारतबाट नेपाल आउन थालेको छ।
काठमाडौं उपत्यका, मध्य तथा पश्चिम तराईका अन्य बजारमा पनि यहाँको गोलभेँडा पुग्ने गर्दथ्यो। तर अहिले उत्पादन बढेर बजारलाई प्रभाव पारेको खेवाङले बताउनुभयो। विगतमा निकै कम उत्पादन हुने तेह्रथुम, धनकुटालगायत जिल्लाबाट समेत अहिले ठूलो परिमाणमा गोलभेँडा तराईका बजारमा पुग्ने गरेको व्यवसायीहरु वताउछन्।
पाँचथरका फिदिम नगरपालिका, हिलिहाङ र याङवरक गाउँपालिकामा ठूलो मात्रामा गोलभेंडा उत्पादन हुने गरेको छ। साविकका पञ्चमी, अमरपुर, नागी र थर्पू गाविसमा धेरै गोलभेंडा उत्पादन हुने गरेको छ। गत चैतमा रोपिएको गोलभेंडा फलेर अहिले पाकेको छ।
यस क्षेत्रमा कात्तिकसम्म गोलभेंडा उत्पादन भइरहन्छ। पहिलो सिजनको गोलभेंडाले मूल्य नपाएपनि यसभन्दा पछि उत्पादन हुने गोलभेँडाले मूल्य पाउने आशामा यहाँका कृषकहरु बसेका छन्।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment