आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौं महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने
काठमाडौं। काठमाडौं महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गरेको छ।
घटना हुनुअघि काठमाडौं महानगरपालिकाको नगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरेको विषयमा महानगर प्रहरीसँग नेपालीको भनाभन परेको थियो। महानगर प्रहरीले उनको बाइकमा ह्वील लक लगाएको थियो। त्यसको केही समयपछि सोही बाइकको पेट्रोल झिकेर उनले आफैँलाई आगो लगाएका थिए।
यसबारे महानगरले सरकारले बनाउने छानबिन समितिलाई सहयोग गर्ने पनि बताएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले जारी विज्ञप्तिमा उल्लेख छ, ‘दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ।
यस्तो छ महानगरको विज्ञप्ति
मिति २०८३–०३–२५ गते राहदानी विभाग अगाडि मुगु जिल्ला घर भई हाल भक्तपुर वस्ने गणेश नेपालीले आत्मदाहको प्रयास गरेको र आज उहाँको उपचारका क्रममा भएको दुःखद निधनप्रति काठमाडौं महानगरपालिका स्तब्ध भएको छ। यस घटनाप्रति काठमाडौं महानगरपालिका गहिरो दुःख व्यक्त गर्दछ। यस घडीमा शोकसन्तप्त परिवारप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं।
यस घटनाको निष्पक्ष छानविन गर्न नेपाल सरकार, गृह मन्त्रालयले छानविन समिति गठन गर्ने निर्णय गरेको भन्ने जानकारी सञ्चारमाध्यम मार्फत् प्राप्त हुन आएको छ। उक्त समितिको तथ्यगत छानविनमा काठमाडौं महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्नेछ। छानविनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरु चाल्नेछ। महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न, यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार छ। यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न हामी सबैमा हार्दिक अपिल गर्दछौं।
दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकवाट निर्णय गरिनेछ।






डिसी नेपाल





Facebook Comment