सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

डिसी नेपाल
२६ असार २०८३ २२:३९

सङ्खुवासभा। सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ। यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल्लो भेगमा साउनको अन्तिम सातासम्म रोपाइँ भइसक्नेमा यस वर्ष सिँचाइ सुविधा अभाव, पहाडी क्षेत्रमा भइरहेको खण्ड वृष्टिलगायत कारणले रोपाइँ प्रभावित भएको हो।

सिँचाइ अभावका कारण हालसम्म २५ प्रतिशत मात्र रोपाइँ सकिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज राईले बताए। माथिल्लो भेगमा रोपाइँ सकिए पनि तल्लो बेँसी भेगमा धानका बीउ ब्याडमै थन्किएका उनले उल्लेख गरे। उनका अनुसार जिल्लामा कुल आठ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ।

ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा ३१ हजार ५९६ हेक्टर खेतीयोग्य जमिन रहेको छ। जिल्लाको तल्लो भेगका कतिपय ठाउँमा भर्खरै रोपाइँ सुरु गरिएको छ भने केही ठाउँमा असार लागेसँगै धान रोप्न थालिएको थियो।

जिल्लाका खाँदबारी नगरपालिकाभित्रका सेकाहा, पाङ्मा, मरुवा, हेलुवाबेँसी, चन्दनपुर, चेवाबेँसी, कल्चेबेँसी, पाङ्ठाबेँसी, पिप्लेबेँसी, माल्टाबेँसीलगायत क्षेत्रमा धानखेती गरिँदै आइएको सूचना अधिकारी राईले जानकारी दिए। उनका अनुसार मादी र धूपू क्षेत्रमा उत्पादन बढी हुन्छ।

साथै मकालु गाउँपालिकाको हेदाङगना, पाँचखपन नगरपालिकाको वाना र होक्से तथा चैनपुर नगरपालिकाभित्रका भण्डारीडाँडालगायत क्षेत्रमा धानखेती गरिन्छ। यहाँ अट्टे, बेलगुठी, खुमलचार, राधाकृष्ण, सानोमसिना, कालधानलगायत जातका धानखेती गरिने सूचना अधिकारी राईले बताए।

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन्। जिल्ला प्रशासन कार्यालयले तीन महिनामा ११० जना सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गरेको हो।

सङ्घीय सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअनुसार सरकारी सेवा घरघरमै उपलब्ध गराउने लक्ष्यअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी राहदानी, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात घरघरमै पुर्‍याउने अभियान सुरु गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार घरदैलोमा राहदानी बुझ्ने दर्ता फारम भरेका सेवाग्राहीको राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइएको हो। सरकारको सेवा जनताको घरदैलोमै पुर्‍याउने उद्देश्यसहित पाँच चरणमा ११० जना सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गरिएको उनले बताए।

राहदानी वितरणमा हुलाक सेवाको प्रयोग गरिएपछि सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम हुनुका साथै समय र खर्च बचत पनि हुने सहायक प्रजिअ कार्कीले बताए। यो सेवा लिन चाहने सेवाग्राहीले हुलाक शुल्कबापत रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने हुन्छ।

भौगोलिक रूपमा विटक र सडक सञ्जाल नजोडिएका ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, विद्यार्थी तथा वैदेशिक रोजगारीको तयारीमा रहेका सेवाग्राहीका लागि यो अभियान उपयोगी हुने जिल्ला हुलाक कार्यालका प्रमुख अशोक राईले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *