बेल्जियमलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा

डिसी नेपाल
२७ असार २०८३ ६:१७

काठमाडौं। पूर्व विजेता स्पेन १६ वर्षको लामो प्रतीक्षा समाप्त गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

लस एञ्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक क्वाटरफाइनल खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। सन् २०१० मा विश्वकपको उपाधि जितेयता स्पेनका लागि यो नै सबैभन्दा ठूलो सफलता हो।

सन् २०१० को विश्वविजेता बनेपछि स्पेनको विश्वकप यात्रा सुखद रहन सकेको थिएन। सन् २०१४ को विश्वकपमा स्पेन समूह चरणबाटै बाहिरिएर स्तब्ध बनेको थियो भने सन् २०१८ र २०२२ का संस्करणहरूमा अन्तिम १६ को खेलभन्दा अगाडि बढ्न सकेको थिएन। तर, यसपटक भने पुरानो लयलाई सुधार्दै र मैदानमा उत्कृष्ट फुटबल प्रदर्शन गर्दै स्पेनले सेमिफाइनलको टिकट काटेको छ।

शनिबारको खेलमा स्पेनलाई जिताउन फेबियन रुइज र मिकेल मेरिनोले एक-एक गोलको योगदान दिए । बेल्जियमका तर्फबाट चार्ल्स डे केटलेरले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन त्यो पर्याप्त हुन सकेन।

खेलको सुरुवातदेखि नै आक्रामक बनेको स्पेनका लागि ३०औँ मिनेटमा फेबियन रुइजले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, स्पेनको त्यो खुसी धेरै समय टिक्न पाएन । खेलको ४१औँ मिनेटमा बेल्जियमका युवा स्टार चार्ल्स डे केटलेरले गोल गर्दै खेललाई १–१ गोलको रोमाञ्चक बराबरीमा ल्याए।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले गोलका थुप्रै अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा चुकेका थिए । खेल अतिरिक्त समयतर्फ धकेलिने सम्भावना बढिरहेका बेला ८८औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को महत्त्वपूर्ण जित दिलाए ।

निर्धारित समय सकिनै लाग्दा भएको यो गोल नै बेल्जियमका लागि घातक साबित भयो । अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा अर्को बलियो टोली फ्रान्सको सामना गर्नेछ, जसले खेललाई अझ प्रतिक्षित र रोमाञ्चक बनाउने निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *