दाउन्नेको सास्ती हट्यो: सडक विस्तार अन्तिम चरणमा पुगेसँगै बर्खामा पनि यात्रा सहज

डिसी नेपाल
२७ असार २०८३ ६:४९

नवलपरासी। गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौंसम्म सवारीसाधन जामको चपेटामा पर्ने पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड यस वर्ष भने पूर्ण रूपमा सहज बनेको छ।

नारायणघाट-बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै बर्खाको यो समयमा पनि यात्रु तथा चालकहरूले बिनाकुनै अवरोध यात्रा गर्न पाएका हुन्।

विगतका वर्षहरूमा सामान्य वर्षा, पहिरो, सडक निर्माणका काम तथा गुडिरहेका सवारीसाधन बिग्रिँदा समेत यस क्षेत्रमा माइलौँ लामो जाम लाग्ने गर्दथ्यो, जसका कारण विशेषगरी बर्खा र हिउँदको समयमा हजारौँ यात्रुले घण्टौँसम्म सडकमै सास्ती भोग्नुपर्ने बाध्यता थियो। तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र र कङ्क्रिट ढलान भइसकेकाले यात्रुहरूले त्यो सास्तीबाट मुक्ति पाएका छन्।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ मा पर्ने दाउन्ने क्षेत्र विगतमा कति चुनौतीपूर्ण थियो भन्ने कुरा तथ्यांकले नै पुष्टि गर्छ। २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्मको एक वर्षमा मात्रै यो सडक खण्ड कुल ६३ पटक अवरुद्ध भएको थियो।

तर, यस वर्ष त्यो विकराल अवस्था पूर्ण रूपमा हटेको छ। यस राजमार्गमा नियमित रूपमा सवारीसाधन चलाउँदै आएका चालक रामु भुसालले विगत सम्झिँदै पहिले पानी पर्ने बित्तिकै दाउन्नेको जाममा फसिने डर हुने गरेकोमा अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा निकै सहज हुनुका साथै यात्रा अवधि समेत घटेको बताए। दाउन्ने क्षेत्रमा सहज रूपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रुहरूले ठूलो राहत महसुस गरेका छन्।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीका अनुसार दाउन्नेको यो समस्या पहिले राष्ट्रिय चिन्ताको विषय बनेको थियो भने अहिले सडक विस्तारसँगै आवागमन सहज हुँदा स्थानीय अर्थतन्त्र, पर्यटन र दैनिक जनजीवनमा सकारात्मक प्रभाव पर्न थालेको छ।

पछिल्लो समय दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन निकै प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।

विगतमा निर्माण कार्य र वर्षाका कारण पटक-पटक लामो जाम व्यवस्थापन गर्नुपर्ने चुनौती प्रहरीलाई हुने गरेकोमा अहिले सडकको अवस्था सुधारिएकाले सामान्य अवस्थामा लामो समय सडक अवरुद्ध हुने अवस्था नरहेको उनले स्पष्ट पारे।

प्रहरी र आयोजनाबीचको निरन्तर समन्वयले गर्दा पनि यातायात व्यवस्थापन चुस्त बनेको हो। नारायणघाट-बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार हालसम्म पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगिसकेको छ। मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भइसकेकाले अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड तथा रेलिङलगायतका सहायक कामहरू मात्र भइरहेका छन्।

पूर्व-पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने यो नारायणघाट-बुटवल सडक एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको हो।

आयोजना कार्यालयका अनुसार सानातिना फिनिसिङका कामहरू जारी रहे पनि मुख्य पूर्वाधार तयार भइसकेकाले विगतमा जस्तो सामान्य पानी पर्दा पनि घण्टौँ सडक ठप्प हुने अवस्थाको पूर्ण रूपमा अन्त्य भएको छ, जसले समग्र यातायात क्षेत्रलाई नै ठूलो राहत दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *