मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोडभन्दा बढी बजेट, राहत र सुरक्षा प्राथमिकतामा: मन्त्री चौधरी

डिसी नेपाल
२७ असार २०८३ ७:२१

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित बनेका कृषक तथा स्थानीय समुदायको सुरक्षा र राहतलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेकी छन्।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै उनले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक भौतिक संरचना निर्माण, रोकथामका उपाय तथा संरक्षणसम्बन्धी विभिन्न कार्यक्रमहरूलाई निरन्तरता दिइएको जानकारी गराइन्।

यसै सन्दर्भमा मन्त्री चौधरीले मानव-सहअस्तित्व कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ४१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको समेत सभालाई अवगत गराइन्।

उक्त विनियोजित बजेटको उपयोगिता र कार्ययोजनाबारे प्रष्ट पार्दै मन्त्री चौधरीले यस राशिबाट वन्यजन्तु प्रभावित क्षेत्रहरूमा पानी पोखरी तथा सोलार फेन्स निर्माण, घाँसे मैदानको वैज्ञानिक विकास, वन्यजन्तु ह्यान्डलिङ र उद्धारका लागि आवश्यक आधुनिक उपकरण खरिद जस्ता महत्त्वपूर्ण काम गरिने बताइन्।

यसका साथै स्थानीय बासिन्दाको खेतीयोग्य जमिन संरक्षणका लागि मेस वायर फेन्स निर्माण गरिने तथा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँग सम्बन्धित अन्य आवश्यक पूर्वाधारहरू खडा गरी प्रत्यक्ष रूपमा सुखद परिणाम दिने खालका कार्यक्रमहरू सञ्चालनमा उक्त रकम खर्च गरिने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *