जलन हुँदा छालाले सुरक्षा कवच गुमाउँछ, बिरामीलाई लगातार पानी खुवाउनु किन आवश्यक छ?
काठमाडौं। इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार शरीर जलन भएपछि तत्काल अपनाइने सही प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन निकै महत्त्वपूर्ण भूमिका खेल्छ।
जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउने र त्यसपछि छिटोभन्दा छिटो सही प्राथमिक उपचारको विधि सुरु गर्नुपर्नेमा उनले जोड दिएका छन् । शरीरमा आगोको लप्का लागेको अवस्थामा यदि व्यक्ति एक्लै छ भने भुईँमा ढलेर लडिबुडी गर्ने अर्थात् ‘स्टप, ड्रप एन्ड रोल’ विधिबाट आगो निभाउन सकिन्छ, जुन विश्वव्यापी रूपमै प्रयोग हुने अत्यन्तै प्रभावकारी विधि हो।
यसका साथै आगो निभाउनका लागि बाक्लो कपडा, जुटको सामग्री वा सजिलै आगो नजल्ने ब्ल्यांकेटलाई पानीमा भिजाएर प्रयोग गर्न सकिन्छ, तर आगो निभाउने क्रममा आफैँ सुरक्षित रहन विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।
आगो निभाइसकेपछि बिरामी सामान्य अवस्थामा छ भने जलेको भागमा करिब ३० मिनेटसम्म बगिरहेको सामान्य तापक्रमको पानी हाल्नुपर्ने डा. धितालले बताएका छन्। यसरी उपचार गर्दा फ्रिजको चिसो पानी वा तातो पानीको प्रयोग भने भुलेर पनि गर्नु हुँदैन।
जलेको भागलाई पानीमा डुबाउने नभई माथिबाट पानी बगाउनुपर्ने र यदि धारा उपलब्ध छैन भने तल कुनै भाँडा राखेर माथिबाट पानी हाल्न सकिने उनको सुझाव छ। यसका साथै जलनपछि जलेर शरीरमा टाँसिएका कपडाहरूलाई जबरजस्ती निकाल्ने गल्ती गर्नु हुँदैन, किनकि त्यसो गर्दा छाला थप च्यातिने र घाउ अझ गहिरो हुन सक्ने ठूलो जोखिम रहन्छ।
मानव छालाले घरको छतले जसरी नै बाहिरी असरबाट शरीरभित्रको पानी र तरल पदार्थलाई जोगाएर राख्ने सुरक्षा कवचको काम गर्ने डा. धिताल स्पष्ट पार्छन् । जलनपछि छाला नष्ट हुँदा शरीरबाट पानीको मात्रा तीव्र रूपमा घट्न थाल्ने भएकाले यदि बिरामी सचेत छ र खान सक्ने अवस्थामा छ भने उसलाई बिस्तारै पानी खुवाउनु आवश्यक हुन्छ।
प्राथमिक उपचार गरिसकेपछि जलेको भागलाई सफा कपडाले छोपेर सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्छ र बाटोमा पनि बिरामीलाई पानी खुवाउँदै लैजान सकिन्छ । तर, यदि बिरामीको अवस्था गम्भीर छ, बेहोस छ वा खान सक्ने अवस्थामा छैन भने कति पनि ढिला नगरी तुरुन्तै अस्पताल पुर्याउनुपर्छ।
नेपालमा जलनबारे पर्याप्त जनचेतनाको अभाव र प्राथमिक उपचारमा गम्भीर कमजोरी हुने गरेको औँल्याउँदै डा. धितालले हालै त्रिपुरेश्वरमा भएको गणेश नेपालीको आत्मदाहको घटनामा पनि अज्ञानताका कारण जलनपछि अपनाउनुपर्ने यस्ता आधारभूत प्राथमिक उपचारका उपायहरू प्रयोग हुन नसकेको उल्लेख गरेका छन् ।






डिसी नेपाल





Facebook Comment