बुद्धनगर आत्मदाह घटना: उपचाररत अश्विन राउतको वीर अस्पतालमा निधन
काठमाडौं। काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।
शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। अस्पतालका अनुसार उनको शरीर ५५ प्रतिशत जलेको थियो। उपचारमा संलग्न डाक्टर पियुष दाहालका अनुसार उपचारकै क्रममा राउतको केही समयअघि मृत्यु भएको हाे।
यसअघि राउतका भाइ दीपक राउतले दिएको जानकारी अनुसार, बिहान करिब ६ बजेतिर परिवारमा श्राद्धको तयारी भइरहेको र श्रीमती नुहाउन गएको समयमा अश्विनले बाहिर खड़ी गरिएको स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याएर आगो लगाएका थिए।
बाहिर आवाज आएपछि निस्किएकी श्रीमती, छिमेकी र नजिकैको होस्टेलका युवाहरूको सक्रियतामा आगो निभाई उनलाई तत्काल अस्पताल पुर्याइएको थियो।
पारिवारिक स्रोतका अनुसार राउतको एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि सोचेअनुरूप स्वास्थ्यमा सुधार नहुँदा उनी केही समयदेखि मानसिक तनावमा थिए र थप उपचारको तयारी भइरहेको थियो।
घटनापछि केही सञ्चारमाध्यमहरूले यसलाई पारिवारिक विवाद र राजनीतिकरणसँग जोडेर समाचार सम्प्रेषण गरेको भन्दै मृतकका परिवारले गम्भीर आपत्ति जनाएका थिए। वास्तविक तथ्य नबुझी अनुमानका भरमा आएका भ्रामक समाचारले शोकको घडीमा परिवारलाई थप मानसिक पीडा दिएको भन्दै भाइ दीपकले जिम्मेवार र संयमित पत्रकारिताका लागि सञ्चारमाध्यमहरूसँग आग्रह गरेका थिए।






डिसी नेपाल





Facebook Comment