हर्मुज जलमार्ग बन्द: अमेरिकासँग ‘वारपार’ को स्थिति, क्षेप्यास्त्रहरू तयारी अवस्थामा

डिसी नेपाल
२८ असार २०८३ ७:२५

तेहरान। विश्वकै प्रमुख तेल ढुवानी मार्गका रूपमा रहेको हर्मुज स्ट्रेट (जलमार्ग) इरानले आइतबारदेखि औपचारिक रूपमा बन्द गरेको घोषणा गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसेनाले एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म र अर्को सूचना जारी नभएसम्मका लागि जलमार्ग बन्द गरिएको जनाएको हो।

आईआरजीसीका अनुसार एक संदिग्ध जहाजले आफ्नो प्रणाली बन्द गरेर समुद्री सुरक्षामा खतरा पैदा गरेपछि त्यसमाथि आक्रमण गरी रोकिएको थियो भने अन्य केही जहाजले पनि अनधिकृत मार्गबाट जलमार्गमा प्रवेश गर्न खोज्दा चेतावनीलाई बेवास्ता गरेका थिए।

इरानले यस जलमार्ग बन्दको निर्णयविरुद्ध कुनै पनि प्रकारको सैन्य कारबाही गरिए त्यसको ‘कडा जवाफ’ दिने र क्षेत्रमा रहेका शत्रु देशका नयाँ सैन्य अखडाहरूलाई निशाना बनाउने चेतावनी समेत दिएको छ।

इरानको यस कदमको काउन्टरमा अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले हर्मुज स्ट्रेटमा इरानी बलले साइप्रसको झण्डा भएको कन्टेनर जहाज ‘एमभी जीएफएस ग्यालेक्सी’ माथि क्रुर आक्रमण गरेको भन्दै इरानभित्र तेस्रो चरणको जवाफी हवाई हमला सुरु गरिसकेको छ, जसमा एक नागरिक चालक दलका सदस्य बेपत्ता भएका छन्।

यो नौसैनिक तनाव गत जुन महिनामा पाकिस्तानको मध्यस्थतामा भएको ‘इस्लामावाद समझदारी’ विपरीत सतहमा आएको हो, जसले युद्धविराम र हर्मुज स्ट्रेट खुला गर्ने मार्गप्रशस्त गरेको थियो। हालैका दिनहरूमा दुवै पक्षबीच पुनः भीषण हानाहान सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम सम्झौता भंग भइसकेको घोषणा गरेका छन्।

यद्यपि, इरानको अनुरोधमा कूटनीतिक वार्ताका ढोकाहरू भने अझै खुला रहेको दाबी गरिएको छ। सोही पृष्ठभूमिमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले शनिबार एक शक्तिशाली लिखित सन्देश जारी गर्दै आफ्ना बुबा तथा पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला ‘कुनै पनि हालतमा लिइने’ दृढता व्यक्त गरेका छन्।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा मारिएका अली खामेनीको हालै सम्पन्न अन्त्येष्टि समारोहपछि जारी यस सन्देशमा मोज्तबाले अपराधीहरूको पूर्ण सूची आफूहरूसँग सुरक्षित रहेको र विश्वभरका स्वतन्त्रताप्रेमी मानिसहरूले चाँडै नै यस प्रतिशोधको जिम्मेवारी बाँडेर लिने उल्लेख गरेका छन्।

गत मार्च ८ मा कार्यभार सम्हालेका मोज्तबा खामेनी बुबाको अन्त्येष्टिमा समेत अनुपस्थित रही अहिलेसम्म कुनै भिडिओ वा अडिओमा सार्वजनिक रूपमा देखा नपरेका कारण उनको स्वास्थ्य स्थितिबारे अनेकौँ आशंका भइरहेका बेला यो लिखित प्रतिबद्धता सार्वजनिक भएको हो।

उता, इरानी नेताहरूको प्रतिशोधको धम्की र हालै इजरायलले अमेरिकालाई बुझाएको गुप्तचर रिपोर्ट (जसमा इरानले ट्रम्पको हत्याको नयाँ योजना बुनिरहेको दाबी गरिएको छ) पछि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई कडा शब्दमा चेतावनी दिएका छन्।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत् धारणा सार्वजनिक गर्दै ट्रम्पले यदि इरानले वर्तमान अमेरिकी राष्ट्रपतिमाथि विश्वको कुनै पनि कुनामा हत्याको प्रयास गरेमा इरानको अस्तित्व नै ध्वस्त पारिदिने बताएका छन्। उनले लेखेका छन्, ‘अहिले नै एक हजार मिसाइलहरू तयारी अवस्थामा इस्लामिक गणतन्त्र इरानतर्फ तेर्सिएका छन् र आवश्यकता परेमा थप हजारौँ मिसाइलहरू तुरुन्त प्रहार गरिनेछ।’

ट्रम्पले अमेरिकी सेनालाई एक वर्षको अवधिसम्मका लागि (जुन समय थप गर्न पनि सकिनेछ) इरानका सबै क्षेत्रहरू पूर्ण रूपमा ध्वस्त र सखाप पार्न आफूले अगाडि नै स्पष्ट निर्देशन दिइसकेको दाबी गरेका छन्। यसरी एकातर्फ सामरिक जलमार्ग बन्द हुनु र अर्कातर्फ दुवै देशका शीर्ष नेतृत्वबाट आणविक तथा क्षेप्यास्त्र युद्धको धम्की आउनाले मध्यपूर्वको सुरक्षा वातावरण निकै गम्भीर र अनपेक्षित मोडमा पुगेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *