वनफूलले सजियो ढोरपाटन उपत्यका: सडकको सास्तीका बीच बर्खायाममा पर्यटकको ओइरो
ढोरपाटन। बागलुङको प्रसिद्ध ढोरपाटन उपत्यका यतिबेला थरिथरिका वनफूलले ढकमक्क बनेर चिटिक्क सिँगारिएको छ। अग्ला-अग्ला पहाडले घेरिएको समथर मैदानमा राता, पहेँला, गुलाबी र बैजनी रङका फूलहरू फुलेपछि यो क्षेत्र निकै मनमोहक देखिएको हो।
देशका अन्य पर्यटकीय क्षेत्रहरू बर्खायाम सुरु भएसँगै सुनसान बन्दै गइरहेका बेला ढोरपाटनमा भने प्राकृतिक सौन्दर्यमा रमाउन आउने आन्तरिक पर्यटकहरूको भीडभाड ह्वात्तै बढेको छ। नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र रहेको यस स्थानमा पछिल्लो तीन वर्षयता वनफूलको आकर्षणले गर्दा दैनिक दुई सयभन्दा बढी पर्यटक आउने गरेका छन्, जसका कारण स्थानीय होटल व्यवसाय समेत निकै फस्टाएको छ।
विगत सम्झँदै होटल व्यवसायी सङ्घ ढोरपाटनका अध्यक्ष जीवन पुनका अनुसार विसं २०७५ सम्म यहाँ पर्यटकको आगमन निकै न्यून थियो। त्यसबेला केवल ढोर बराह मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी बाहेक अन्य मानिसहरू खासै देखिँदैनथे भने स्थानीय बासिन्दा समेत घुम्ती बसाइका लागि मात्र यहाँ बस्ने गर्थे।
तर पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तस्बिर तथा भिडियोहरू भाइरल हुन थालेपछि देशका ठूला सहरहरू काठमाडौँ, नेपालगन्ज, पोखरा, भैरहवा र चितवनबाट पर्यटकहरू समूह-समूह बनाएर आउन थालेका हुन्। स्थानीयले ‘राके फूल’ का रूपमा चिन्ने यस वनफूललाई सिकार आरक्षले नाकेफुली, बुकीफूल र मदानेफूल जस्ता नाम दिएको छ।
पाटनैभरि फुलेका यी फूलहरूका बीचमा घोडा, भेडाबाख्रा र गाईभैँसी चरिरहेको दृश्यले यहाँ आउने जो-कोहीको मन लोभ्याउने गरेको छ।
चितवनको माडीबाट १३ जनाको समूहसहित ढोरपाटन आइपुग्नुभएका महेश थापाले सामाजिक सञ्जालमा देखेका तस्बिर र भिडियोकै कारण आफूहरू यहाँ आकर्षित भएको र यहाँको वातावरण सोचेभन्दा पनि बढी मनोरम रहेको बताए।
त्यस्तै दाङको तुल्सीपुरबाट आएका कुलेन्द्र पनेरुले दाङको चरम गर्मी छल्न ढोरपाटन आइपुग्दा चिसो मौसम र प्राकृतिक सुन्दरताले मन फुरुङ्ग भएको सुनाए। तर, उनले बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर कच्ची सडकको दुरावस्थाका कारण यात्रामा ठूलो सास्ती खेप्नुपरेको दुःखेसो समेत पोखे। हाल बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको सडक ग्राभेल गरिए पनि त्योभन्दा माथिल्लो खण्डको बाटो निकै जीर्ण रहेको छ।
ढोरपाटन आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै स्थानीय जनप्रतिनिधिहरू पनि निकै उत्साहित बनेका छन्। पर्यटकहरूले भोग्नुपरेको सडकको सास्तीका सम्बन्धमा ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फल्लेघरभन्दा माथिको अप्ठ्यारो खण्डलाई तत्काल व्यवस्थित गरिने जानकारी दिए।
हाल सो सडकलाई कालोपत्र गर्नका लागि फराकिलो बनाउने काम भइरहेकाले केही स्थानमा हिलाम्मे भए तापनि पर्यटकको यात्रालाई सहज बनाउन तत्काल गेग्रेटो (ढुङ्गा–गिट्टी) हालेर बाटो सञ्चालन गरिने उनले प्रतिबद्धता व्यक्त गरे। सडक पूर्वाधारको राम्रो विकास र व्यापक प्रचारप्रसार गर्न सके ढोरपाटनमा विदेशी पर्यटकहरूलाई समेत ठूलो सङ्ख्यामा भित्र्याउन सकिने प्रचुर सम्भावना देखिएको छ।






डिसी नेपाल





Facebook Comment