मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालन, ट्रिपिङको समस्या हट्ने

डिसी नेपाल
२८ असार २०८३ १०:४४

काठमाडौं। ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको विशेष सक्रियतापछि मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ।

ऊर्जा मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठको प्रत्यक्ष उपस्थिति र पहलकदमीमा शनिबार दिउँसो ३ बजेदेखि उक्त प्रसारण लाइनमा व्यावसायिक रूपमा विद्युत् प्रवाह (चार्ज) सुरु गरिएको हो।

लामो समयदेखि अवरुद्ध रहेको यस प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठ आफैँ कार्यक्षेत्र (फिल्ड) मा खटिएर स्थानीय पालिकाका जनप्रतिनिधि तथा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी समस्या समाधानको पहल गरेका थिए।

तनहुँको मार्कीचोकस्थित न्यु मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यु भरतपुर सबस्टेसनसम्मको यस २२० केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै अब चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकका लागि विद्युत् सेवा थप सहज र गुणस्तरीय हुने विश्वास लिइएको छ।

प्रसारण लाइन उद्घाटनका अवसरमा मन्त्री श्रेष्ठले यस महत्त्वपूर्ण उपलब्धिले क्षेत्रीय विद्युत् प्रसारण प्रणालीलाई थप सन्तुलित, भरपर्दो र प्रभावकारी बनाउने उल्लेख गरे। उनले उपभोक्ताहरूले भोग्दै आएको ट्रिपिङ तथा ‘झ्याप-झ्याप’ बत्ती जाने समस्या न्यूनीकरणमा यो आयोजनाले महत्त्वपूर्ण योगदान पुर्‍याउने स्पष्ट पारे।

विशेष गरी वर्षायामको समयमा यस क्षेत्रका निजी क्षेत्रद्वारा सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत्‌लाई सहज रूपमा भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न अब ठुलो सहयोग पुग्नेछ।

यसअघि प्रसारण लाइनको अभावमा कम क्षमतामा मात्रै पावर हाउस सञ्चालन गर्नुपर्ने उत्पादकहरूको बाध्यता समेत अब सदाका लागि अन्त्य हुने मन्त्री श्रेष्ठको भनाइ छ।

निजी क्षेत्र र सरकारबिचको सफल सहकार्यका कारण हालसम्म पूर्ण उपयोग हुन नसकेको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठले यस कदमलाई नेपालको ऊर्जा आत्मनिर्भरता र समृद्धिको यात्रामा अर्को एउटा ऐतिहासिक तथा महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा व्याख्या गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *