उपत्यकाको प्यास मेटाउने सुन्दरीजल आफैं काकाकुल

समस्या समाधान नभए मेलम्ची रोक्ने सांसद पाण्डेको चेतावनी

पूर्णप्रसाद मिश्र/रासस
२८ असार २०८३ १४:२७

काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्रका रूपमा रहेको सुन्दरीजल क्षेत्रका स्थानीय बासिन्दा वर्षौंदेखि खानेपानी नपाएर काकाकुलको नियति भोग्न बाध्य भएका छन्।

संघीय राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमै ल्याएर प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति हुन सकेको छैन।

पानीको मुख्य मुहान क्षेत्रकै बासिन्दाहरू शुद्ध खानेपानीबाट वञ्चित भएर परम्परागत ढुंगेधारा, कुवा र सार्वजनिक धारामा निर्भर हुनुपरेको छ। मुहान क्षेत्रका बासिन्दाले भोग्दै आएको यो विकराल समस्याका बारेमा स्थानीय तथा संघीय जनप्रतिनिधिहरूले वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि अहिलेसम्म कुनै दीर्घकालीन समाधान हुन सकेको छैन।

यसै सन्दर्भमा, संसद्को खानेपानी तथा पूर्वाधारसँग सम्बन्धित समितिको गत साताको बैठकमा काठमाडौं निर्वाचन क्षेत्र नं ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानीको समस्या तत्काल समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने कडा चेतावनी दिएका थिए।

सोही चेतावनीपछि शनिबार उनले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का उच्च प्रतिनिधिहरूसँग स्थलगत बैठक गरी स्थानीय समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिए।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट २७.५ किलोमिटर लामो सुरुङमार्फत सुन्दरीजल आइपुग्ने मेलम्चीको पानी र वाग्मती नदीको पानी यहीँ प्रशोधन गरी उपत्यकामा वितरण गरिने भए पनि स्रोतस्थल आसपासका बासिन्दा भने अझै नियमित सेवा पाउनबाट वञ्चित छन्।

खानेपानीको चरम अभाव कतिसम्म छ भन्ने कुरा कागेश्वरी मनोहरा नगरपालिका-३ भद्रवासकी सावित्री सापकोटाको बाध्यताले छर्लङ्ग पार्छ। उनी मात्र १० लिटर खानेपानीका लागि गोकर्णेश्वर नगरपालिका-१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म करिब आधा घण्टा पैदल जानुपर्ने र पानी भर्ने पालोको प्रतीक्षामा दुई घण्टासम्म समय खर्चिनुपर्ने पीडा सुनाउँछिन्।

सोही वडाका स्थानीय केशवप्रसाद पुडासैनीले पनि नगरपालिकाले विभिन्न खानेपानी आयोजना सम्पन्न गरेको दाबी गरे पनि दिगो व्यवस्थापन नहुँदा संविधानले प्रत्याभूत गरेको स्वच्छ खानेपानीको अधिकारबाट स्थानीयवासी वञ्चित हुनुपरेको गुनासो गरे।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट आवश्यक पाइप बिछ्याएर केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षित रूपमा खानेपानी वितरण हुन नसकेको यथार्थ स्वीकार गरेका छन्।

स्थानीयवासी प्रेम श्रेष्ठका अनुसार सुन्दरीजलस्थित पुरानो वाग्मती पानी प्रशोधन केन्द्र लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा शुद्ध पानी वितरण प्रभावित भएको छ।

केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा देखिएको यो समस्या पञ्चायतकालमा निर्माण गरिएको पुरानो वितरण प्रणालीका कारण भएको स्पष्ट पारे।

पुरानो पाइपलाइनले अहिलेको बढ्दो जनघनत्व धान्न नसक्ने अवस्थामा पुगेकाले अब नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको उनले जानकारी दिए।

यसैबीच, सुन्दरीजलको वाग्मतीतर्फको पुरानो पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्ध क्षेत्रसम्म वितरण हुने पानी अत्यधिक धमिलो हुने गरेको अत्तरखेलका स्थानीयवासी नोर्साङ शेर्पाले गुनासो गरे।

उनका अनुसार यस्तो धमिलो पानी प्रयोग गर्दा कपडा सफा नहुने र नुहाएपछि शरीर चिलाउने समस्या हुने गरेको छ, जसका विरुद्ध नागरिक समाजले एक दशकदेखि आवाज उठाउँदै आए पनि सम्बन्धित निकायले कानमा तेल हालेर बसेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *