देशका विभिन्न भूभागमा आज राति ‘अति भारी’ वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय भएसँगै आज राति देशका विभिन्न भूभागमा भारीदेखि अति भारीसम्म वर्षा हुने सम्भावना रहेको जनाउँदै उच्च सतर्कता अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ।
आइतबार साँझ मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभागले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो वर्षाको आकलन गरेको छ।
विभागका अनुसार, आज राति र भोलि सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यसका अतिरिक्त, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा ‘अति भारी’ वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
वर्षाका कारण उक्त क्षेत्रहरूमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको उच्च जोखिम रहेको छ। यसले जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण र हवाई तथा सडक यातायातमा समेत प्रत्यक्ष असर पार्न सक्ने विभागले चेतावनी दिएको छ।
विभागले सम्भावित जोखिमबाट बच्न आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन, नदी तटीय क्षेत्र तथा पहिरोको उच्च जोखिम रहेका ठाउँमा बसोबास गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।







डिसी नेपाल





Facebook Comment