रवि-बालेन भेट : आत्मदाहको घटना र सुकुम्बासी व्यवस्थापनबारे गहन छलफल

डिसी नेपाल
२८ असार २०८३ २२:४४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच भेटवार्ता भएको छ।

आइतबार बिहान सभापति लामिछानेको निवास बुढानीलकण्ठमा दुई नेताबीच करिब तीन घण्टा लामो छलफल भएको हो। भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, रास्वपाको केन्द्रीय समिति विस्तार, सरकारको कार्यशैली र संविधान संशोधनको विषयमा संवाद भएको स्रोतले जनाएको छ। साथै, देशमा बढ्दै गएको जननिराशालाई कसरी दीर्घकालीन रूपमा सम्बोधन गर्ने भन्ने विषयमा दुवै नेताले गम्भीर विचारविमर्श गरेका छन्।

छलफलका क्रममा पछिल्लो समय भएका आत्मदाहका घटनाहरूबारे विशेष चर्चा भएको छ। गणेश नेपाली र आश्विन राउत लगायतका आत्मदाहका घटनालाई वर्षौंदेखिको कुण्ठा र व्यवस्थाप्रतिको निराशाको परिणामका रूपमा विश्लेषण गर्दै, यसबाट परिवारमा परेको पीडाप्रति दुवै नेताले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

भेटमा सभापति लामिछानेले सुकुम्बासी समस्याको विषय उठाउँदै, सुकुम्बासी व्यवस्थापन गर्दा मानवीय संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्न प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन्।

पछिल्ला दिनमा सार्वजनिक सञ्चारमाध्यममा आएका विभिन्न अड्कलबाजीहरूको खण्डन गर्दै सचिवालयले रास्वपा र मेयर शाहको समूहबीच कुनै पनि दरार नरहेको स्पष्ट पारेको छ।

हाल मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको र प्रधानमन्त्रीले शक्ति केन्द्रीकृत गर्न नखोजेको बरु सम्बन्धित मन्त्रालयहरूलाई बढी शक्तिशाली बनाउने प्रयास भइरहेको स्रोतको दाबी छ।

त्यस्तै, रास्वपाको केन्द्रीय समिति विस्तारमा बालेन पक्षले अवरोध गरेको भन्ने हल्ला निराधार रहेको र दुवै नेताबीचको समन्वयमा नै कामकारबाही अगाडि बढिरहेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *