सम्झौताको अन्तिम दुई घण्टा: कसरी बिथोलियो अमेरिका-इरान वार्ता?
काठमाडौं। अमेरिका र इरानबीचको कूटनीतिक तथा सैन्य तनाव फेरि एकपटक चरम बिन्दुमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच सम्झौता हुन लागेकै बेला इरानले अचानक एउटा जहाजमा ड्रोन हमला गरेको आरोप लगाएका छन्।
सञ्चारमाध्यम सीएनएनसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानी पक्ष लगभग सबै कुरामा सहमत हुन तयार भइसकेको अवस्थामा वार्ताको वातावरण बिथोलिएको दाबी गरे। उनका अनुसार सम्झौताको अन्तिम तयारी भइरहेका बेला दुई घण्टापछि नै इरानले जहाजमा ड्रोन आक्रमण गरेको हो। इरानी अधिकारीहरूको कडा आलोचना गर्दै ट्रम्पले उनीहरूको कार्यशैलीमा गम्भीर समस्या रहेको टिप्पणी गरेका छन्।
इरानले व्यावसायिक जहाजमा गरेको सोही आक्रमणको जवाफमा अमेरिकाले ‘धेरै कडा’ प्रत्याक्रमण गरेको छ। हर्मुज स्ट्रेटमा साइप्रसको झन्डा बोकेको कन्टेनर जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिकाले शनिबार राति इरानका लगभग १४० सैन्य प्रतिष्ठानहरूलाई निशाना बनाएर शक्तिशाली हवाई हमला गरेको बताएको छ। अमेरिकी रक्षा मन्त्रालय र सेनाको यो कदमलाई लिएर रक्षामन्त्री पिट हेगसेथले इरानले गलत निर्णय गरेको र अब त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
यता, इरानले भने आफ्नो जलक्षेत्रमा अनधिकृत रूपमा जहाजहरू प्रवेश गर्न थालेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हर्मुज जलमार्गलाई अनिश्चितकालका लागि बन्द गरिएको घोषणा गरेको छ। तर, अमेरिकी सेनाले इरानको यो घोषणा र दाबीलाई ठाडै अस्वीकार गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै हर्मुज जलमार्ग पूर्ण रूपमा खुला रहेको र त्यहाँ जहाजहरूको निर्वाध आवतजावत सुनिश्चित गर्न अमेरिकी सेना हाई अलर्टमा तैनाथ रहेको स्पष्ट पारेको छ।
सेन्टकमले कानुनी रूपमा यात्रा गर्न चाहने संसारका सबै जहाजका लागि यो अन्तर्राष्ट्रिय जलमार्ग सधैँ खुला रहने दृढता व्यक्त गरेको छ। इरानको बिनाकारणको शत्रुतापूर्ण कार्य, उत्पीडन, धम्की र एकपक्षीय घोषणाका बाबजुद पनि सामुद्रिक आवतजावतको स्वतन्त्रता रक्षा गर्न अमेरिकी सेना सक्षम र तयार रहेको सेन्टकमको भनाइ छ।
विगतमा व्यावसायिक जहाजहरूमा भएका हमलापछि पनि इरानलाई सम्झौता पालना गर्ने अर्को अवसर दिइएको भए तापनि इरान यसपटक फेरि चुकेको अमेरिकी सैन्य कमान्डले उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय व्यापारका लागि निकै संवेदनशील मानिने हर्मुज स्ट्रेटमा इरानको कुनै नियन्त्रण नरहेको दाबी समेत अमेरिकाले गरेको छ।






डिसी नेपाल





Facebook Comment