बाढीले मकवानपुरमा खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए
डिसी नेपाल
२९ असार २०८३ ९:३६
मकवानपुर। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले सोमबार बिहान एक १२ चक्के ट्रक बगाएको छ। ट्रकसँगै बगेका चालक भने पौडिएर सुरक्षित बाहिर निस्कन सफल भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ७ः४५ बजे शिवम् सिमेन्ट उद्योग नजिक खोला तर्नका लागि बनाइएको कल्भर्टमा पानीको बहाव अचानक बढेपछि सिमेन्ट उद्योगबाट ढुङ्गा अनलोड गरेर फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बाढीले बगाएको हो।
ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङ ट्रकसँगै बगेका थिए। उनले जोखिमपूर्ण अवस्थामा पनि पौडिएर आफैँ सुरक्षित बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ। घटनामा उनको खुट्टामा सामान्य चोट लागेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापन गरेको थियो। घाइते चालक थिङलाई थप उपचारका लागि हेटौँडा–चौघडास्थित राजु मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा चालकबाहेक अन्य कुनै मानवीय क्षति भएको छैन। बाढीले बगाएको ट्रक खोलाबाट निकाल्न आवश्यक पहल भइरहेको छ।
मनसुन सक्रिय भएसँगै मकवानपुरसहित देशका विभिन्न क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव बढ्दै गएको छ। प्रशासनले वर्षायाममा खोला तथा नदी तर्ने क्रममा विशेष सावधानी अपनाउन र उच्च जोखिम भएका स्थानमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
Facebook Comment