१४ वर्षको फरकमा एकाघरका चार सदस्यको ज्यान लिने ‘ध्रुवे’: हात्तीको स्मरण शक्ति र स्वभावबारे बहस

डिसी नेपाल
२९ असार २०८३ ११:३०

चितवन। चितवन राष्ट्रिय निकुञ्जको जंगली ‘ध्रुवे’ हात्तीको आक्रमणबाट बोटे परिवारका चार जनाको अकालमा निधन भएपछि हात्तीको स्वभाव र प्रतिशोध लिने प्रवृत्तिका विषयमा नयाँ बहस सुरु भएको छ।

ध्रुवे हात्तीले गत शनिबार राति भरतपुर महानगरपालिका-२३ मा घरमै बसिरहेका बेला अचानक आक्रमण गरी २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो।

सो क्रममा हात्ती धपाउन आशिकाका श्रीमान् पुनु बोटेले आगो बाल्न खोज्दा घर समेत जलेर नष्ट भएको थियो। यसअघि वि.सं. २०६९ सालमा माडीको द्रौपतीनगरमा पुनु बोटेका हजुरबा र हजुरआमालाई पनि यसै ध्रुवे हात्तीले यसरी नै आक्रमण गरेर मारेको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

१४ वर्षको फरकमा एकाघरका चार जना सदस्यको एउटै हात्तीको आक्रमणबाट ज्यान गएपछि हात्तीले प्रतिशोध वा रिस साँधेको त होइन भन्ने प्रश्न उब्जिएको हो।

हात्तीका विषयमा विद्यावारिधि गर्नुभएका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक राम हात्ती अत्यन्तै बुद्धिमान प्राणी भएकाले आफूलाई चोट पुर्‍याउने वा नकारात्मक व्यवहार गर्ने व्यक्तिलाई चिन्न सक्ने बताउँछन्।

हात्तीले ‘इगो’ वा ‘रिस’ राख्न सक्ने व्यवहार देखाए पनि त्यसलाई पुस्तान्तरण हुने वैमनस्यताको रूपमा व्याख्या गर्न नमिल्ने र एउटा पुस्ताको रिस अर्को पुस्तामाथि पोख्छ भन्ने वैज्ञानिक आधार र प्रमाण फेला नपरेको उनको भनाइ छ।

आफूलाई ढुंगा हान्ने गेम स्काउटको कोठा नै खोज्दै गएर तोडफोड गरेको तर क्षमा पूजा गरेपछि आउन छाडेको एउटा पुराना घटना स्मरण गर्दै उहाँले हात्तीमा मानिसको व्यवहार र भावना बुझ्ने गज्जबको क्षमता हुने उल्लेख गरे।

त्यस्तै, लामो समय निकुञ्जमा अनुभव सँगालेका हात्तीविज्ञ डा. नरेन्द्रमानबाबु प्रधान पनि हात्तीले रिस राख्न सक्ने सम्भावना स्वीकार गरे पनि एउटा सीमित घटनाका आधारमा १४ वर्षपछि पनि त्यही परिवारमाथि रिस साँधेर आक्रमण गर्‍यो भनी निष्कर्ष निकाल्न गाह्रो हुने बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन हात्तीको स्मरण शक्ति बलियो हुने भएकाले स्थान, बाटो र व्यक्ति सम्झिएर रिसको व्यवहार देखाउने गरेको पुष्टि गर्छन्।

यद्यपि, एउटै परिवारका विभिन्न पुस्तामाथि आक्रमण गर्नुको पछाडि प्रतिशोध भन्दा पनि भौगोलिक संयोग हुन सक्ने उनको विश्लेषण छ। बोटे परिवारको माडी र भरतपुरको बेलहठ्ठामा भएका दुवै घर हात्ती हिँडडुल गरिरहने परम्परागत क्षेत्र (करिडोर) मा पर्ने भएकाले यस्तो दुखद संयोग भएको हुन सक्ने पुनले बताए।

यता हात्ती प्रजनन एवं तालिम केन्द्र सौराहाका प्रमुख मणिपुरण चौधरी भने हात्ती स्वभावैले रिसाहा हुने र आफ्नो माउतेलाई समेत अवसर हेरेर आक्रमण गर्ने गरेको बताउँछन्।

झण्डै १८ वर्षअघि घरपालुवा ‘वीरेन्द्रप्रसाद’ हात्तीले आफ्नै माउते गोदीलाल चौधरीलाई आक्रमण गरेर मारेको घटना स्मरण गर्दै चौधरीले घरपालुवा हात्ती त रिसाउँदा क्रुर हुन्छ भने जंगली हात्ती झनै आक्रामक र रिस साँध्ने प्रवृत्तिको हुने उल्लेख गरे।

बच्चा हात्तीलाई तालिम दिने क्रममा समेत ठूलो रिस देखिने भन्दै उनले हात्तीले आफूलाई दुःख दिने व्यक्तिलाई भने सधैँ सम्झिएर आक्रमण गर्न सक्ने खतरा औंल्याए।

नारायण अधिकारी / रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *