मिडिया हाउसअगाडि छाडिएका गाडीमा सुरक्षा खतरा देखिएन, कारबाहीका लागि बग्गीखाना पठाइँदै

डिसी नेपाल
२९ असार २०८३ १४:२३

काठमाडौं। काठमाडौंका प्रमुख सञ्चारगृह (मिडिया हाउस) हरूको प्रवेशद्वारअगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीहरूमा कुनै पनि सुरक्षा खतरा नरहेको प्रहरीले प्रष्ट पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले सञ्चारमाध्यमसँग कुरा गर्दै अनामनगरस्थित भाटभटेनी (अनलाइनखबर र हिमालय टेलिभिजन कार्यालय नजिक) र थापाथलीस्थित कान्तिपुर पब्लिकेसन अगाडि बेवारिसे अवस्थामा राखिएका गाडीहरूको सूक्ष्म निरीक्षण तथा प्राविधिक जाँच गर्दा कुनै पनि शंकास्पद वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार सञ्चारगृह लक्षित गरी एकै पटक गाडीहरू छाडिएकाले प्रहरीले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर गाडीभित्र कुनै विष्फोटक वा जोखिमयुक्त वस्तु भए/नभएको सुकासुकी जाँच गरेको थियो।

“हामीले यसलाई दुई दृष्टिकोणबाट हेरेका थियौं। पहिलो, गाडीभित्र कुनै शंकास्पद वस्तु वा आपराधिक मनसायका सामग्री छन् कि भनी जाँच गर्दा त्यस्तो कुनै सुरक्षा खतरा फेला परेन,” प्रवक्ता भट्टराईले भने।

सुरक्षाको हिसाबले जोखिम नदेखिए पनि सार्वजनिक आवागमन र सञ्चारगृहको कार्यसम्पादनमा अवरोध पुर्‍याउने गरी अनधिकृत रूपमा पार्किङ गरिएकाले ती सवारी साधनहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कान्तिपुर अगाडि राखिएको गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखानातर्फ पठाइसकिएको छ भने अनलाइनखबर र हिमालय टेलिभिजन अगाडि छाडिएका गाडीहरूलाई पनि क्रेनको सहयोगमा बग्गीखाना लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

अनधिकृत पार्किङ गरी फरार रहेका गाडी धनीहरूको पहिचान गरी ट्राफिक नियमअनुसार कारबाही गरिने प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *