मकवानपुरमा सर्वाधिक वर्षा

डिसी नेपाल
२९ असार २०८३ १७:३९

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार)नेपालभर मनसुनी वायुको प्रभाव कायम रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू–भागको नजिक आइपुगेकाले देशभरको मौसममा उल्लेख्य बदली देखिएको छ।

पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार मकवानपुरको मकवानपुरगढी क्षेत्रमा ११९.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सावधानी अपनाउन विभागले विशेष आग्रह गरेको छ।

विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका साथै मधेस प्रदेश र तराई क्षेत्रका केही स्थानमा समेत भारी वर्षा हुनसक्ने सम्भावना देखिएको छ।

वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने सम्भावना छ।

भारी वर्षाका कारण कर्रा खोला, साम्री खोला र बकैया खोला लगायतका साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

यसअघि मोरङ लगायत देशका ३५ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै सम्बन्धित क्षेत्रमा सतर्क रहन सूचना जारी गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *