गगन थापा भन्छन्- प्रश्न गर्ने हक र हिम्मत कसैले खोस्न सक्दैन

डिसी नेपाल
२९ असार २०८३ १८:५१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आलोचना गर्ने र प्रश्न उठाउने आफ्नो हक र हिम्मत कसैले खोस्न नसक्ने बताएका छन्।

पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले आफ्नो पुरानो घर रहेको रातोपुल क्षेत्रमा शंकास्पद तरिकाले गाडी राखेर आफूलाई तर्साउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

थापाले आफ्नो घर अगाडि प्रशासनकै गाडी प्रयोग गरेर शंकास्पद ढंगले गाडी राखिनुले सरकार आफैँ प्रश्न गर्नेहरूको आवाज बन्द गर्न लागेको प्रस्ट पारेको आरोप लगाए। उनले भने, ‘सरकार आफैँ प्रश्न गर्नेहरूको मुख बन्द गर्न लागिपरेको छ, यो अचम्मलाग्दो र खेदजन्य विषय हो। मेरो घर अगाडि गाडी राख्नु भनेको मेरो मुख थुन्न खोज्नु र तर्साउनु हो।’

हिजोका दिनमा दमनकारी नीतिकै कारण पुराना दलहरूले जनविश्वास गुमाएको स्मरण गराउँदै थापाले अहिले पनि त्यही प्रवृत्ति दोहोरिनु गम्भीर चिन्ताको विषय भएको बताए। उनले थपे, ‘यस्तो प्रवृत्तिले कसैको भलो गर्दैन। विगतमा पनि यस्तै कारणले धेरैले गुमाएका छन्। नयाँ-नयाँ घटना नघटुन् भन्नका लागि यो हामी सबैको सामूहिक चिन्ताको विषय हुनुपर्छ।’

आफ्नो राजनीतिक यात्रा र पार्टीको इतिहासबारे चर्चा गर्दै उनले प्रश्न गर्ने अधिकारका लागि नै नेपाली कांग्रेसको जन्म भएको बताए। उनले भने, ‘जननायक बीपी कोइरालाले सत्ताको दमन सहेर पनि लोकतन्त्रका लागि लड्नुभएको थियो। हामी प्रश्न गर्ने समाज बनाउनकै लागि लडेका कार्यकर्ता हौँ। प्रहरी वा प्रशासनको डर देखाएर हाम्रो आवाज थुन्न सकिँदैन।’

थापाले आफूहरूले राष्ट्रिय हित र जनसरोकारका मुद्दामा जहिले पनि आलोचना र प्रश्न गरिरहने स्पष्ट पार्दै सरकारलाई विनम्रतापूर्वक यस्ता कार्य नदोहोर्‍याउन आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *